एमालेसँग तत्काल कार्यगत एकता गरेर जान सकिन्छ – नेता खनाल
२३ फागुन काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले)सँग तत्कालका लागि कार्यगत एकता गरेर जान सकिने बताएका छन् ।वामपन्थी एकताको पक्षमा वकालत गर्दै आएका उनले तत्कालका लागि एमालेसँग कार्यगत एकताका साथ अघि बढ्न सकिने सम्भावनाको आँकलन गरेका हुन् । सञ्चारकर्मीसँग सम्मानित नेता खनालले एमालेसँग एकता गरेर जान नहुने भन्ने नरहेको बताए ।
उनले नेताहरूमा रहेका आग्रह, पूर्वाग्रह र इगो अन्त्य गर्न सके एमालेसँगको एकीकरण गर्न कुनै गाह्रो नभएको जिकिर गरे । एकता अंकमाल गरेर, रमाइलोसँग भेटघाट गरेर, लड्डु आदि इत्यादी खाएर नहुने सम्मानित नेता खनालको प्रतिक्रिया थियो । उनले वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तमा कुरा मिल्दै गएपछि एमालेसँग एकीकरण गरेर जान कुनै समस्या नहुने स्पष्ट पारे । सम्मानित नेता खनालले कार्यगत एकताको आधारमा कम्युनिष्टहरूबीच नै एकीकरणको प्रक्रिया सुरु हुने बताए ।