गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरु राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन – नेता चौधरी
२६ फागुन काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु लामो नरहेको दाबी गरेका हुन् ।
“यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,” उनले भने ।
नेता चौधरीले सरकार निरन्तर रुपमा अगाडि बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनलाई घात गरेको आरोप लगाए । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिका कारण देशमा अस्थिरता मच्चिएको पनि उनको दाबी छ । नेता चौधरीले प्रधानमन्त्री प्रचण्डको कदम गलत रहेको जिकिर गरे । प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिरसिद्ध भएको उनको भनाइ छ । प्रचण्डको नियतमा नै खोट रहेको र यस्तो मनोविज्ञानले बनेको सरकार भत्काउन सक्नुपर्ने उनले बताए । नेता चौधरीले प्रचण्डको जस्तो चिन्तन भएका मानिसहरुलाई मुलुकको राजनीतिको मूलधारबाट सिमान्तकृत गर्नुपर्ने उनको भनाइ छ ।
अबको सात दिनभित्र मुलुकको राजनीतिक कोर्ष नयाँ ढंगले अगाडि बढ्ने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले दुई जना काण्डवाला मानिसहरुलाई लिएर अहिलेको सरकार बनाएको उनको टिप्पणी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले गृहमन्त्री भएर आफूमाथि आइलागेको मुद्दाहरु राफसाफ गर्ने मनसाय राखेको उनको दाबी छ । नेता चौधरीले गृहमन्त्री लामिछानेको उक्त चाहना पूरा हुन नदिने बताए । “उहाँको आफ्नो मनशाय छ– गृहमन्त्री भएर आफूमाथि आइपरेका मुद्दाहरु राफसाफ गर्ने चाहना छ । तर, त्यो राफसाफ गर्ने चाहना पुरा हुनेवाला छैन । प्रचण्डभन्दा पनि अस्थिर मान्छे घण्टी पार्टी, रवि लामिछाने,” उनले भने ।
केपी ओलीले प्रचण्डसँग बदला लिन हिसाब किताब गरेर बसेको उनको भनाइ छ । नेता चौधरीले ओलीले साँवामात्रै राफसाफमात्रै नभएर ब्याज र हर्जनासमेत असुल गर्न तयार भएर बसेको उनको दाबी छ । साथै, ओलीले प्रचण्डको नेतृत्वमा प्रतिनिधि सभा विघटन गराएर विगतमा आफूले ठीक गरेको थिएँ भन्ने भाष्य निर्माण गर्नसमेत चाहेको उनको दाबी छ ।