तस्कर-गुण्डा र अपराधीसँग हात मिलाएको दृष्य देख्नु नपरोस् – गृहमन्त्री


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन २७ २०८०
1.7K
SHARES

२७ फागुन काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी संगठनलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउँदै सरुवा-बढुवा लागि शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्ने दोहोर्‍याएका छन् ।प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा उनले आफ्नो शक्ति नेतालाई नसुम्पिन निर्देशन दिए ।‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस्। अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस् । नीति र विधिभित्र रहेर काम गर्नुहोस्’, उनले भने, ‘कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्नुहोस् । मबाट तपाईंहरूको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ।’

कुनैपनि घटनाको अनुसन्धान प्रमाणका आधारमा गर्न स्मरण गराउँदै त्यसमा कुनै सम्झौता नगर्न भनेका छन् ।‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ । कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु’, लामिछानेले भने ।

उनले आपराधिक गिरोहसँग हात मिलाएको देखे प्रहरीलाई कारबाही हुने चेतावनी पनि दिए । प्रहरी कर्मचारी गैर व्यवसायिक गतिविधिमा संलग्न रहेको देखिए हदैसम्मको कारबाही हुने भन्दै उनले थपे, ‘तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस् । कुनै नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस् ।‘

गृहमन्त्री लामिछानेले आफू प्रहरी समायोजन र ३० वर्षे सेवा अवधि हटाउने विषयमा स्पष्ट रहेको बताएका छन् ।‘तीस वर्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ । तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ । यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ । कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ । व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ’, उनले भने, ‘प्रहरी समायोजन टुंगोमा पुर्‍याउनुपर्छ । त्यसका लागि सरोकारवालासँग छलफल र गृहकार्य गर्नुपर्छ’ ।