अहिले अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत असक्षमता हो – नेता शर्मा
१ चैत काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले स्रोत, साधनको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकूचनमा परेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले नेपालसँग भएको पर्याप्त स्रोत, साधनको व्यवस्थापन गर्न नजान्दा अर्थतन्त्र संकुचनमा परेको बताएका हुन् । उनले स्रोतसाधनको सही परिचालन, सही उपभोग र सही व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको बताए ।
पूर्वअर्थमन्त्री शर्माले नेपालमा अर्थतन्त्रमा समस्या आउनुको कारण संरचनागत कमजोरी र संस्थागत असक्षमता भएको बताए । संरचना र संस्था बलियो बनाउनसके परिणाम निकाल्न सकिने उनको भनाइ छ । उनले देशलाई समृद्ध बनाउन १० वटा एजेन्डामा राष्ट्रिय सहमति गर्नुपर्ने बताए ।
सांसद शर्माले एकले ल्याएको नीति र बजेट अर्कोले काट्ने गलत परम्पराबाट देश अगाडि बढ्न नसक्ने बताए । ‘१० वटा मुख्य बुँदामा सहमति गरेर राष्ट्रिय सहमतिका आधारमा अगाडि जाने संकल्प गर्यौँ भने हाम्रो देश किन बन्न सक्दैन ? हामी गर्न सक्छौँ । सम्भव छ । सहमतिको प्रक्रियाबाहेक द्वन्द्वको प्रक्रियाबाट राष्ट्र अगाडि बढ्न सक्दैन,’ उनले भने ।
पूर्वअर्थमन्त्री शर्माले राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने हो भने देशको समृद्धि सम्भव भएको बताए । उनले अर्थतन्त्रमा देखिएका चुनौती समाधान हुने गरी संसदमा छलफल गरेर बजेटको सिद्धान्त र प्राथमिकता परिमार्जन गर्नुपर्ने बताए ।