२९ अर्ब बराबरको वैदेशिक लगानी प्रतिवद्धता
२ चैत काठमाडौं । नेपालमा आउने वैदेशिक लगानी प्रतिबद्धता बढ्दो नै छ । आठ महिनामा सवा २९ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको हो । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । आठ महिनामा कुल ३१७ वट परियोजना मार्फत सो बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।गत माघ मसान्तसम्म सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी २७ अर्ब ५३करोड ८८ लाख २६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
आठ महिनाको अवधिमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो । समीक्षा अवधिमा २५३ वटा उद्योगका लागि लगानी प्रतिबद्धता भएको छ। हालसम्ममा भने ४ खर्ब ७९ अर्ब १० करोड ३४ लाख ३८ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । कुल ६ हजार ११२ वटा उद्योगका लागि आएको लगानी प्रतिविद्धताबाट ३ लाख २२ हजार २६६ जनाले रोजगारी पाउने विभागले जनाएको छ।विभागका अनुसार फागुन महिनामा मात्रै कुल ६ अर्ब ६७ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। सो महिनामा १२ वटा नयाँ उद्योगका लागि ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ र २ वटा उद्योगका लागि सेयर पर्चेच एग्रीमेन्ट तथा सेयर सस्क्रीब्सन एग्रीमेन्टबापत २० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
औसतमा मासिक ३ अर्ब ६४ करोड १८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आउने गरेको विभागको तथ्याङ्कले देखाएको छ।विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा नयाँ तथा पुरानो गरी ६६ वटा उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस्तै, गत भदौ महिनामा पनि ५३ वटा नयाँ तथा पुरानो उद्योगका लागि ५ अर्ब ८५ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो ।
त्यसैगरि गत असोजमा २ अर्ब ४४ करोड ८८ लाख ७३ हजार रुपैयाँ बराबरको ४७ वटा नयाँ तथा पुराना उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै, गत कात्तिक महिनामा मात्रै १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ, मङ्सिरमा २ अर्ब ५६ करोड १९ लाख ७५ हजार रुपैयाँ, पुसमा १ अर्ब ९८ करोड ९५ लाख ८९ हजार र गत माघमा १ अर्ब १९ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए ।विभागका अनुसार साना उद्योगका लागि धेरै आउने गरेको देखिएको छ । आठ महिनाको अवधिमा २३८ वटा साना उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै, मझौला खालको १२ र ३ ठुला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ ।
फागुनमा मात्रै १२ वटा साना उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तर, ठुला तथा मझौला उद्योगका लागि भने फागुनमा वैदेशिक लगानी प्रतिबद्धता नआएको विभागले जनाएको छ ।आठ महिनाका अवधिमा सबैभन्दा पर्यटन क्षेत्रमा ४५ प्रतिशत (११५ वटा), सेवा क्षेत्रमा ३३ प्रतिशत (८८ वटा), उत्पादन क्षेत्रमा १२ प्रतिशत (३० वटा), सूचना प्रविधिमा ३ प्रतिशत लगानी प्रतिबद्धता आएको छ ।