निवर्तमान अर्थमन्त्री महतलाई ‘बलिको बोको’ बनाइयो – अर्थमन्त्री पुन
५ चैत काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्ना पूर्ववर्ती डा. प्रकाशशरण महतलाई ‘बलिको बोको’ बनाइएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।‘एक डेढ वर्ष अघि श्रीलंका हुन्छ भनिएको अर्थतन्त्र अहिले त्यही कुरा गलत साबित भएको छ’, उनले भने, ‘यसो हुनुमा सरकारले गरेका प्रयासहरुको महत्वपूर्ण भूमिका छ ।’
उनले एक वर्ष अघि अर्थतन्त्रका विषयमा हुने टिकाटिप्पणी र बहसहरु अहिले नसुनिने अवस्था आएको बताए । ‘पोहोर जुन कुरामा बहस हुन्थ्यो, अहिले हामी बिल्कुल नयाँ कुरामा बहस गरिरहेका छौं । हाम्रा समस्या र चुनौती फेरिएका छन्’, उनले थपे ।निवर्तमान अर्थमन्त्री महतले चालेका कयौं राम्रा प्रयासहरुबाट नै यो अवस्था आएको उनको तर्क थियो । उनले राजनीतिक समीकरण फेरिनु र गठबन्धन बदलिनुमा वास्तविक कारणहरु अलग्गै भए पनि अर्थमन्त्रीलाई ‘बलिको बोको’ बनाइएको बताए ।
अर्थमन्त्री पुनले आर्थक अनुशासन पालना गर्न, भुक्तानी सन्तुलन मजबूत पार्न र बाह्य क्षेत्रमा देखिएको खाडल पुर्न एवम् गहिरिँदो आर्थिक समस्यालाई सुरक्षित रुपमा समस्याको चंगुलबाट बाहिर ल्याउन डा. महतले गरेको प्रयासको सह्राहना गरे ।यसअघि अर्थमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै गर्दा पनि पुनले निवर्तमान मन्त्री महतको प्रशंशा गरेका थिए । ‘कतिपय राम्रा कामहरु भएका छन्’, उनले भनेका थिए, ‘तर भएकै कामको पनि उचित रुपमा बताउन नसक्दा समस्या भएको हो ।’