माओवादीसँग एकता सम्भव छैन – अध्यक्ष डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ७ २०८०
4.5K
SHARES

७ चैत काठमाडौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा (माओवादी केन्द्र) सँग एकताबारे कहिल्यै नसोचेको दाबीगरेका छन्। पार्टी मुख्यालय, सुविधानगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीसँग तत्काल एकता सम्भव नरहेको पनि उल्लेख गरे।

‘नयाँका नाममा पुरानोतिर फर्किने कुरा हुँदैन। लोकतन्त्रमा आधारित समाजवाद र समाजवादउन्मुख अर्थतन्त्र भन्ने कुरालाई कार्यान्वयन गर्ने शक्ति निर्माण गर्न खोजेका हौँ,’ उनले भने, ‘त्यसबाहेक हामीले अरु सोचेका छैनौँ। पुराना दलहरूसँग एकताबारे सोचिएको छैन।।’

जनयुद्धकै पृष्ठभूमिबाट आएका कारण त्यसका बाँकी कार्यभार सम्पन्न गर्ने सन्दर्भमा त पुराना दलहरूसँग सहकार्य गर्ने कुरा छँदैछ ।तर, त्यसबाहेक एकताका लागि आफूहरूले कहिल्यै नसोचेको उनले बताए। ‘पुराना राजनीतिक शक्तिहरूबाट अग्रगामी विकास हुन सक्दैन,’ उनले भने, ‘नयाँ शक्तिको टडकारो आवश्यकता अहिले देखिएको छ।’

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेका छन्। यी दुई समूहको विवादका कारण नेसपा विभाजित भइसकेको छ। यस्तोमा भट्टराईले माओवादीसँग एकता सम्भव नहुने बताएका हुन्।