वीपीको नीतिले देशमा ३० वर्ष पञ्चायत रह्यो – महासचिव पोखरेल


Capital Headline
प्रकाशित मिति : शनिबार, चैत्र १० २०८०
3.8K
SHARES

१० चैत पोखरा । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वीपी कोइरालाको महा कमजोरीका कारण देशमा लामो समय पञ्चायत व्यवस्थाले जरा गाडेको आरोप लगाएका छन् । पञ्चायत व्यवस्था हटेको ३ दशक बितिसकेको अवस्थामा उनले वीपीको मेलमिलाप नीति गलत भएको तर्क गरे ।शनिबार पोखरामा भएको एमाले कास्कीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले वीपीको कमजोरीलाई मदन भण्डारीले सच्याएर पञ्चायत हटेको दाबी गरे ।

‘वीपीको मेलमिलाप वामपन्थीसँग थिएन । राजासँग थियो । त्यही मेलमिलापको नीतिका कारण पञ्चायत ३० वर्ष टिक्यो,’ उनले भने, ‘मदन भण्डारीले कांग्रेसभित्रका क्रान्तिकारी धारसँग मिलेर संयुक्त आन्दोलन गर्नुभयो । वीपीकै मान्यतामा कांग्रेस हिँडेको भए पञ्चायत अहिलेसम्म रहन्थ्यो । नेपाली राजनीतिमा वीपीलाई महान् मानिन्छ । तर वीपीकै महान् कमजोरीका कारण पञ्चायत लामो समय टिकेको थियो ।’ कांग्रेसले परिवर्तनलाई संस्थागत क्षणमा सधैँ घात गर्ने गरेको आरोप उनको छ ।

‘निर्णायक आन्दोलनमा कांग्रेस सधैँ अग्र मोर्चामा देखिन्छ । तर संस्थागत गर्ने क्रममा कांग्रेसले घात गर्ने गरेको छ,’ उनले भने । पोखरेलले मिसन ८४ लाई सफल बनाउन नयाँ समीकरण बनाएको तर्क गरे । ‘अहिलेको संसद्‌भित्र हामीले चाहेजस्तो नेतृत्व सम्भव छैन ।

मुलुकको ओरालो यात्रा रोक्नका लागि मात्रै हामीले सहकार्य गरेका छौँ,’ उनले भने, ‘मुलुकलाई विकास र समृद्धिको यात्रामा नयाँ बलियो शक्ति चाहिन्छ । यो सहकार्यले मिसन ८४ लाई बलियो बनाउँछ भन्ने जगमा नयाँ यात्रा आरम्भ गरेका छौँ ।