राजनीतिक दलले सहमति नगरी देशले निकास पाउँदैन – उपमहासचिव शर्मा
१० चैत खोटाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन् । पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ आएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीन वटै सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।“देशमा राजनीतिक अस्थिरता छ । राजनीतिक अस्थिरताले जनतामा निराशा छाएको छ । यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्यक छ”, उनले भने, “राजनीतिक दलहरूले एजेन्डामा सहमति गर्नुपर्यो । राजनीतिक दलले सहमति नगरी देशले निकास पाउँदैन ।”
देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्नुहुँदै उनले विकासको मोडिलिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताए । “नेताहरूले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुपर्यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । योसँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुपर्यो”, उनले भने, “सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।”
नेता शर्माले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खतरा रहेको पनि बताए । “संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिताजस्ता उपलब्धि माओवादीको दश वर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो । यसलाई समाप्त पार्न केही शक्ति लागिपरेका छन् । यो खतराको विषय हो”, उनले भने, “यसलाई संरक्षण गर्दै कार्यान्वयन गर्न सबै जागरूक हुन आवश्यक छ । जनतामा छिटो परिणाम चाहिएको छ । परिणाम खोज्ने चाहनामा प्राप्त उपलब्धि गुम्ने खतरा छ । यसलाई सांस्कृतिक रूपान्तरण अभियानका रूपमा जनतालाई सुसूचित गर्न आवश्यक छ ।”
नेता शर्माले जनप्रतिनिधिले सामाजिक न्याय, न्याय सम्पादन, निष्पक्षता र जनमुखी काम गर्नुपर्नेमा जोड दिए । दिक्तेलस्थित भवनगैरामा निर्माण गरिएको प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेता शर्माले सहिदहरूको सपना पूरा गर्न हरेक नेतृत्वले पहलकदमी लिनुपर्ने बताए ।उनले प्रतिष्ठानको भवनसँगै सोही भवनमा स्थापना गरिएको पुस्तकालयसमेत उद्घाटन गरे । प्रतिष्ठानको छ आना जग्गामा निर्माण गरिएको चारतले पक्की भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको कार्यालयसमेत राखिएको छ ।