शान्ति प्रक्रिया टुंग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँ – नेता पौडेल
१८ चैत काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले शान्ति प्रक्रिया टुंग्याउने विषयलाई बार्गेनिङ नगर्न आग्रह गरेको छ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयलाई बार्गेनिङको विषय नबनाउन दलहरूलाई आग्रह गरेका हुन् ।
उनले संसदभित्रका दलहरू सत्तापक्ष र प्रतिपक्षमा पालैपालो फेरिरहने भन्दै संविधानले निर्दिष्ट गरेका कानुनहरू बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उल्लेख गरे । त्यस्तै शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए । उनले संसदलाई कटाक्ष गर्ने थलो नबनाई जनतामा परेका समस्या समाधान गर्ने परिणाममुखी थलो बनाउनुपर्ने माग गरे ।