राजीनामा दिन प्रचण्डको दबाब, विश्वासको मत लिने शर्माको तयारी
२१ चैत काठमाडौं । कर्णाली प्रदेशमा सत्ता राजनीति पेचिलो बन्दै गइरहेको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा दिन दबाब बढाएका छन् । शर्मा भने विश्वासको मत लिने तयारीमा छन् ।
केन्द्रमा कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने सहमति भएको थियो । तर, उक्त सहमति कार्यान्वयनमा कर्णालीका मुख्यमन्त्री शर्माले ‘अनिच्छा’ देखाएपछि सत्ता राजनीति पेचिलो बनेको हो । सोमबार नै प्रचण्डले शर्मालाई राजीनामा दिन निर्देशन दिए पनि उनले मंगलबारसम्म प्रचण्डको निर्देशन ‘होल्ड’ गरिदिए ।
शर्माले २० चैतमा प्रदेशसभाबाट विश्वासको मत लिने प्रयास गरेका थिए । तर, पछि त्यसलाई आजका लागि सारिएको छ । एमालेसँगको छलफल मात्र होइन, आन्तरिक छलफलबाट पनि विश्वासको मत लिने मिति २१ चैतका लागि सारिएको छ ।