माथिबाट निर्देशन आइसक्यो, सुहाङलाई जिताउन लाग्छौं – माओवादी नेता शर्मा


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र २२ २०८०
21K
SHARES

२२ चैत विराटनगर । इलाम २ को आसन्न उपचुनावमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नै समर्थन गर्ने शीर्ष तहमा सहमति बनेको हो ।माओवादीले यहाँबाट धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेको थियो । तर, पार्टीले टुंग्याइसेको थिएन ।

धीरेन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एमाले उम्मेदवारलाई समर्थन गर्ने सहमति भएकाले सुहाङलाई सहयोग गरेर जान निर्देशन आएको बताए ।उनले भने,‘हिजोसम्म म माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिएँ, अब हाम्रो उम्मेदवार सुहाङ हो । गठबन्धन भएका हिसाबले हामी उहाँलाई जिताउन लाग्नेछौं । ’

उनले थपे, ‘केन्द्रमा सहमति भएसँगै हिजै निर्देशन आएको छ । हामीले सबै कमिटीमा यो निर्देशन सर्कुलर गरिसकेका छौं । पार्टीको निर्देशनअनुसार गठबन्धनको उम्मेदवार जिताउन सबै कमिटी र कार्यकर्ता परिचालित हुने छन् ।’माओवादीले बझाङको प्रदेशसभामा आफूलाई छाड्नुपर्ने शर्तसहित इलाममा सुहाङलाई समर्थन गर्न तयार भएको बताउँदै आएको थियो । बझाङको सन्दर्भमा सहमति भयो/भएन बाहिर आइसकेको छैन ।