सहकारी ठगीमा हाम्रो अडान कायम छ – कांग्रेस


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २६ २०८०
1.4K
SHARES

२६ चैत काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका मन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मंगलबार संसदीय कार्यसमिति र दलको बैठक बस्ने बताए । ‘भोलि बिहान ७ बजे बानेश्वरको ल्होत्से हलमा संसदीय कार्यसमितिको बैठक बस्छ । त्यसपछि ९ बजे संसदीय दलको बैठक बस्छ,’ उनी भन्छन्, ‘हामीले सदनमा राखेको संसदीय छानबिन समिति गठनको माग यथावत छ । हामीले अरुपनि निर्णय गर्छौं ।’

कांग्रेसले सहकारी ठगीमा मन्त्रीहरुको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कुरा सुनिसकेको भन्दै गृहमन्त्री लामिछानेको कुरा सुन्नुको कुनै अर्थ नभएको लेखकले बताए ।  ‘कि नेपालमा दुई वटा सरकार छ भन्नुपर्यो । हामीले एउटा सरकारको कुरा सुनिसक्यौं । प्रधानमन्त्रीजीले भनिसक्नु भयो । प्रधानमन्त्रीको कुरामा चित्त नबुझेर हामीले संसदीय छानबिन समिति माग्यौं,’ उनी भन्छन्, ‘सबै मन्त्रीको पहिलो मन्त्री प्रधानमन्त्री हो । हामीले प्रधानमन्त्रीकै कुरा सुनिसकेकाले सहकारी ठगीमा अरु कसैको कुरा सन्दैनौं ।’

संसदीय छानबिन समिति गठनमा सरकारको धारणाअनुसार नयाँ रणनीति बनाएर अगाडि बढ्ने लेखकको भनाइ छ । उनका अनुसार संसदीय दलको बैठकले संसद्‌मा आएका महत्वपूर्ण विधेयकमाथि छलफल गरेर समान धारणा बनाउने छ । बजेटको सेसन, संसदीय समितिमा रहेका विधेयकमाथि प्रभावकारी ढंगले कांग्रेसले भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल हुने लेखकले बताए ।