रविविरुद्ध धेरै प्रमाण आए, खरो उत्रनू – सभापति देउवा
२७ चैत काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रवि लामिछानेविरुद्ध बलिया प्रमाणहरू रहेको भन्दै संसद्मा खरो रूपमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। मंगलबार बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा दलका नेतासमेत रहेका सभापति देउवाले तथ्य र प्रमाणसहित बोल्न सांसदहरूलाई भनेका हुन्। ‘मलाई पनि थाहा थिएन। सुन्दै गर्दा धेरै प्रमाणसहित आए। तपाईंहरू पनि प्रमाणित आधारमा संसद्मा प्रस्तुत हुनुहोस्,’ देउवाले बैठकमा भनेको भनाइ उद्धृत गर्दै एक सांसदले भने।
साथै उनले गृहमन्त्री लामिछानेबारे छानबिनका लागि संसदीय समिति नबन्दासम्म कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन्। ‘हामी कुनै कुरामा एग्रिमेन्टमा छैनौँ। गलत कुराको विरोध गर्नुपर्छ। रचनात्मक प्रतिपक्षी हुनुपर्छ,’ देउवाले बैठकमा थपे, ‘संसदीय छानबिन समितिले कसैलाई घाटा हुँदैन। उहाँ (रवि लामिछाने) को हकमा पनि हुनुपर्छ।’