गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले बदमासीको शंका गर्ने ठाउँ छ – नेता पाण्डे


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र २७ २०८०
2.1K
SHARES

२७ चैत काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीको रकम ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउनुपर्नेतर्फ संकेत गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकपश्चात् सञ्चारकर्मीसँग उनले कुनै पनि प्रकरणमा प्रतिपक्षले माग गरेपछि छानबिन समिति बनाउने यसअघिको नजिर रहेको बताए ।

उनले संसद्‌मा प्रतिपक्षले उठाएका विषय सुनिनुपर्नेमा जोड दिए । सत्तापक्षले जबरजस्ती रूपमा संसद् चलाउन नहुने उनले उल्लेख गरे । सांसद पाण्डेले संसदीय समिति बनाइए आरोप लागेका मन्त्रीले चोखिने अवसर पाउने पनि बताए । जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शंका गर्ने ठाउँ रहेको उनको भनाइ थियो ।

“…आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफूलाई चोखिने अवसर पाउने हो । तर, जबरजस्ती बस्न खोज्नु भनेको त्यहाँ केही बदमासी छ भनेर शंका गर्ने ठाउँ छ,” उनले भने, “त्यसकारण उसले आफूलाई चोखो ठान्छन्, मैले कमजोरी गरेको छैन भन्ने ठान्छन् भने उनले तयार छु भन्नपर्छ ।”

उनले मंगलबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षले बोलिसकेपछि सत्तापक्षका सांसदलाई बोल्न दिनु सभामुख देवराज घिमिरेको कमजोरी र अज्ञानता भएको जिकिर गरे । सभामुखले संसद्‌मा दुई पक्षलाई लडाउने उपाय गरेको भन्दै उनले त्यसो गर्नु नहुने बताए ।