बालुवाटारमा ओलीको एक घण्टा ‘प्रवचन’
२७ चैत काठमाडौँ । गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको रकम अपचलन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान नछाडेपछि मंगलबार बिहान गरिएको सहमतिको प्रयास विफल बनेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सदनको अवरोध कसरी खुलाउने भनेर निकास खोज्न बसेको सभामुखसहित सत्ता र प्रमुख प्रतिपक्ष दलका नेताबिचको बैठकमा ‘गरमागरम’ छलफल हुनुबाहेक केही प्रगति नभएको हो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा नेता कृष्ण सिटौला सहभागी थिए ।
करिब साढे २ घण्टा नेताहरूबिच भएको छलफलमा झन्डै एक घण्टा एमाले अध्यक्ष केपी शर्मा ओलीमात्र बोलेका थिए । त्यसक्रममा अध्यक्ष ओलीले कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा छानबिन समिति गठनको माग गरेर संसदमा उल्झन गरेको आरोप लगाएका थिए ।