अहिले आफ्नै मन्त्रीको २३ लाख ठगिँदा पनि गृहमन्त्रीको ध्यान छैन – सांसद खतिवडा


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र २८ २०८०
2.7K
SHARES

२८ चैत काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफ्नै पार्टीको मन्त्री ठगिँदा पनि गृहमन्त्री रवि लामिछानेको ध्यान नगएको बताएका छन्।  बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले दिएको अभिव्यक्तिमाथि प्रश्न गरे। ‘एउटा पार्टीका एक जना मन्त्रीले मेरो त २३ लाख रुपैयाँ ठगी भयो भनेर भन्नुभएछ। गृहमन्त्रीलाई आफ्नै पार्टीको मन्त्रीले म ठगिएँ भन्दा पनि गृहमन्त्रीको ध्यान गएको छैन। कसले छानबिन गर्ने हो त, संसदीय छानबिन समितिले नगरे?,’ उनले भने।

खतिवडाले आफ्नो पैसा उठाइदिए २-३ लाख दिन्छु भनेर के भन्न खोजेको भन्दै प्रश्न गरे। ‘अर्को सुनेँ, मेरो पैसा उठाइदिए २-३ लाख दिन्छु भन्नुभएछ। यो कस्तो पार्टी र सरकार रहेछ। पैसा उठाउन पनि पैसा दिनुपर्ने, कस्तो कुरा मन्त्रीले गरेको? त्यो पनि हामी जवाफ चाहन्छौँ,’ उनले भने।

साथै, उनले आफ्नो पार्टीले कोहीसँग पनि पूर्वाग्रह राखेर राजनीति नगर्ने दाबी गरेको छ। ‘विभिन्न बाहनामा प्रतिपक्षले संसद् अवरोध गर्‍यो भन्ने होइन, संसदीय पद्धतिलाई बलियो बनाउन हामी लाग्छौँ,’ खतिवडाले भने, ‘सरकारको नियतमाथि हामीलाई शंका छ, तुरुन्तै छानबिन समिति बनाओस्।’कांग्रेसले गत फागुन २४ देखि सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ।मंगलबारको बैठकमा अवरोध गर्दै कांग्रेसले गृहमन्त्रीमाथि छानबिन समिति बनाउनुपर्ने माग राखेपछि बैठक नै स्थगित भएको थियो।