डा. सापले आफूलाई राष्ट्रपति, पत्नी हिसिलालाई उपराष्ट्रपति माग्नुभयो – अध्यक्ष यादव


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ८ २०८१
5.2K
SHARES

८ वैशाख काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

शनिबार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले अर्का अध्यक्ष डा. भट्टराई राष्ट्रपतिको पद प्राप्त नगरेपछि नेकपा (माओवादी केन्द्र)सँग एकताको विपक्षमा उभिएको बताएका हुन् ।

महिन्द्र राय यादवको भनाइ पढ्नोस्–
डा. बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिने काम गरेको छ । उहाँलाई मैले चुनाव लड्नुस् भनेको थिएँ । उहाँले म लड्दिनँ भन्नुभयो । म आफ्नो छोरीलाई काठमाडौंमा चुनाव लडाउँछु भन्नुभयो । उहाँले यहाँ उनको नानीको घर हो, नेवार समुदाय हो, सबैले भोट दिन्छ भन्नुभयो । मैले ठिक छ भनेँ, तपाईंको छोरी जित्यो भने राम्रो हो । डा. सापले प्रचण्डलाई लिएर जानुभयो । उहाँले प्रचण्डजीलाई हँसिया हथौडामा भोट दिनुस्, हाम्रो एकता गर्ने सहमति भइसकेको छ, चुनावपछि पार्टी एकता गर्छौँ भनेर बाबुरामले गोरखामा भन्नुभएको हो । आज उहाँले गोरखाका जनतालाई जवाफ दिनुपर्ने हुन्छ । हामीलाई आरोप लगाउनुहुन्छ– सांसद, मन्त्री खानका लागि । त्यो वास्तवमा होइन । म भन्न चाहन्छु– डा. साप नेपाली जनताको बीचमा खडा हुनुपर्दछ अब । उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो । यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नु भएन । मलाई थाहा छ । डा. सापले मलाई भन्नुभयो– राष्ट्रपति भएन, हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ । मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ– तपाईं पनि हिँड्नुस् । प्रचण्डजीले भन्नुभयो– मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साप विचलित हुनुभयो । अनि, मलाई भन्नुभयो– फलानो नेताकोमा जाऔँ । म सबै नेताकोमा गएँ । लास्टमा मैले भनेँ– छोडिदिनुस् यो अभियान । मैले भनेँ– पार्टी दर्ता नगर्नुस् तपाईं, यो राष्ट्रियसभाको चुनावमा हाम्रो पार्टीको भोट भनेको ४५ हो, नगर्नुस् । दर्ता गराइदिनुभयो । प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो– गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस् । यो राजनीतिक पार्टी उहाँको पारिवारिकजस्तो भयो । आफू, श्रीमती, बुहारी, छोरी सबैको लागि राजनीति गर्न सकिन्छ ? अनि, प्रचण्डजीले मलाई सोध्नुभयो– कसरी तपाईं दिनुहुन्छ ? पार्टी एकता गराउनुस्, बाबुरामले जेजे भन्छ, सबै दिनुस्, पार्टी एकताबिना केही नदिनुस् मैले भनेको प्रचण्डजीलाई । यथार्थ कुरा यही हो । सच्चाइ यही हो । लुकाउनुपर्ने कुरा होइन । अनि, हामीलाई चाहिँ मुद्दा लगाउने, हामीलाई चाहिँ लोभीपापी बनाउने ? यो देशमा हामीभन्दा बढी लोभीपापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्न सक्छु । अनि, बाबुरामले हामीलाई भन्न मिल्छ ?

मैले नेकपा (समाजवादी) नाम राख्ने सर्तमा त्यो चुनाव चिह्न लिएको हो । माओवादीको जनयुद्ध नभएको भए, पूरक रूपमा जनजाति, थारु, दलित आन्दोलन नभएको भए यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन । हाम्रो लागि यो देशमा संघीयता र लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता, समावेशी, समानुपातिक यी चारवटा विषय हेर्ने दृष्टिकोणमा नेपाल समाजवादी पार्टी सबभन्दा नजिकको मित्र शक्ति भनेको नेकपा (माओवादी केन्द्र) नै छ । नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने उद्देश्य महान् हो । नेसपाले मधेस आन्दोलनको मागलाई पूरा गर्नको निम्ति एकताको प्रक्रिया अगाडि बढाएको हो । गंगा श्रेष्ठ मन्त्रीजी, ३५ वर्षको सम्बन्ध किन छोड्नुभयो ? दुर्गा भट्टराईजी उहाँ (बाबुराम भट्टराई)को पारिवारिक सदस्य र उहाँको परिवारिक सदस्यजस्तै विश्वदीप पाण्डेले आज उहाँलाई छोडिसकेपछि यो नेपाल समाजवादी पार्टीले (आफ्नो पक्षले) लिएको बाटो ठिक छ भन्ने प्रमाणित भएको छ ।