सभापति देउवाको प्रश्न : कांग्रेसले मदन भण्डारीको हत्यारा पत्ता लगाउन रोक्या छ ?


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १० २०८१
3.7K
SHARES

१० वैशाख काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन भन्दै प्रश्न गरेका छन् ।नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उनले कांग्रेसको विरोध गर्दैमा भण्डारीको हत्यारा पत्ता नलाग्ने बताए ।

उनले भने, ‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले कांग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो । मलाई गाली गर्नेहरुले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ?’

उनले भण्डारीको हत्यारो को हो अझै पत्ता लगाउन नसकेकोप्रति असन्तुष्टि जनाए । सभापति देउवाले थपे, ‘हुँदाहुँदा उसको डाइभर पनि मारियो । त्यो पनि पत्ता लागेको छैन । कांग्रेसको विरोध गर्न सजिलो होला । तर, आफ्नो कुरा पनि भन्नुपर्‍यो नि ! दुई पटक राष्ट्रपति बन्नुभयो । सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको ? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन । पत्ता लगाउनुस् ।’