ठुलो अपराधी पक्रेर सर्प्राइज दिदै छु – सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १२ २०८१
3.9K
SHARES

१२ वैशाख इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री मन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरूले बदनाम गर्न विभिन्न ढङ्गले हिलो छ्यापेको बताएका छन् । ०८४ को निर्वाचनसम्म आफूहरूलाई पुराना शक्तिहरूले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरूलाई झूटा मुद्दा लाग्छन्, उनीहरूको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाइहरू त्यसले आत्तिनु पर्दैन ।’

यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठुलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाइहरू प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्‍यो भन्नु हुन्छ । तपाइहरू धेरै आत्तिनु हुँदैन । तपाइहरू अर्को महिना सर्प्रा‍इज कुरेर बस्नु होला आउँदैछ ।’

सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथि के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठुलै सर्प्राइज आउने बताए । उनले आफूहरू देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रूपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए ।