एमाले लगानी प्रवर्द्धनको वातावरण सृजना गर्न दृढ छ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १७ २०८१
2K
SHARES

१७ वैशाख काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानूनी सहजीकरण तथा सबै प्रकारका उचित वातावरण सृजना गर्न आफ्नो पार्टी दृढ रहेको बताएका छन् ।तेस्रो लगानी सम्मेलनको समापन सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी स्वदेशी र विदेशी निजी क्षेत्रका लगानी प्रवर्द्धनका लागि संशोधित कानुनको प्रभावकारी कार्यान्वयन तथा उचित वातावरण सृजनाका पक्षमा दृढ रहेको स्पष्ट पारे ।

उनले लगानी सम्मेलन नेपालका राजनीतिक दल र विकास साझेदारबीचको सहकार्य बढाउने एक उपयुक्त माध्यम भएको बताए ।सन् २०१९ मा आफू सरकारको नेतृत्वमा हुँदा भएको दोस्रो लगानी सम्मेलनको स्मरण गर्दै अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाबमोजिम स्वदेशी र विदेशी निजी क्षेत्रको लगानीलाई अभिवृद्धि गर्ने ध्येय राखिएको जानकारी गराए ।‘त्यसबेला पनि आफूले विभिन्न कानुनमा संशोधन गरेको र श्रम विवादका विषय समाधान गरेका थियौँ, यो सम्मेलनबाट आएका सुझावलाई कार्यान्वयन गराउन हामी पनि भूमिका निर्वाह गर्नेछौँ,’ अध्यक्ष ओलीले भने, ‘यो सरकार परिणाममूलक काम गर्ने स्पष्ट खाकासहित अगाडि बढेको छ । यसले सन् २०३० सम्ममा नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य लिएको छ । त्यसैले निर्धक्क भएर नेपालको समृद्धिको यात्रामा सघाउन र लगानी गर्न आग्रह गर्दछु ।’