अब जनतामा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ मूल मन्त्रलाई बजेटमा सम्बोधन गर्छौं – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १९ २०८१
3K
SHARES

१९ वैशाख काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सृजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने गरी सरकार लागेको बताएका छन् ।

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सत्ता साझेदार दलहरूको तर्फबाट प्रस्तुत साझा न्यूनतम कार्यक्रममा उल्लेखित जनतामा निराशा चिर्दै, भरोसा जगाउँदै भन्ने मूलमन्त्रलाई व्यवहारमा नै सम्बोधन गर्नेगरी सरकारले नीति, कार्यक्रम र बजेट ल्याउने बताए ।

राष्ट्रिय अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै यसले बेरोजगारीलाई न्यूनीकरण गर्दै त्यसको अभिवृद्धिका निम्ति गुणात्मक योगदान गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो । सरकारले मुलुकको समृद्धिका लागि तय गरेको प्राथमिकतालाई सबै राजनीतिक दलहरु, ट्रेड युनियनहरु, निजी क्षेत्रलगायतका साथ रहने विश्वास प्रधानमन्त्रीको छ ।दाहालले सरकारले अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै अघि बढिरहेको बताए ।