५ वर्षमा प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउ


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०८१
2.8K
SHARES

२ जेठ काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय दुई हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको १६औँ पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०८५/०८६ सम्म नेपालीको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलरले बढाउने लक्ष्य राखिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ अमेरिकी डलर छ ।

मन्त्रिपरिषद्‌बाट पारित १६औँ योजनाको बारेमा जानकारी दिँदै आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । उनका अनुसार निरपेक्ष गरिबीको संख्या १२ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । अहिले यस्तो गरिबीको संख्या ३०.३ प्रतिशत छ । त्यस्तै, नेपालीको औसत आयु बढाएर ७३ वर्ष पुर्‍याइएको पनि उनले बताए । अहिले नेपाली नागरिकको औसत आयु ७१.३ वर्ष छ ।