दश महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको नाफा ५३ अर्ब


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१ २०८१
1.7K
SHARES

३१ जेठ काठमाडौँ । चालु आर्थिक वर्षको दश महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब भन्दा धेरै खुद नाफा गरेका छन् । पछिल्लो समयमा कर्जा असुलीमा कठोर भएका बैंक तथा वित्तीय संस्थाले नाफा समेत बढाउन सफल भएका हुन् ।
चालु आर्थिक वर्षको बैंशाख महिनासम्ममा आइपुग्दा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ५३ अर्ब १९ करोड रुपैयाँ छ । यो खुद नाफा गत चैतको तुलनामा १९.०८ प्रतिशतले धेरै हो । चालु आवको चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ४४ अर्ब ६७ करोड रुपैयाँ थियो ।

बैंकहरुले बैंशाख महिनामा गरेको नाफा चैतको तुलनामा बढेको भएपनि गत आवको सोही अवधिको तुलनामा १५.०३ प्रतिशतले घटेको हो । गत आवको बैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाले ६२ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेका थिए ।चालु आवको बैंशाखसम्ममा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यस्थाबाट फिर्ता रकम, ब्याज आम्दानी, विदेशी विनिमयको कारोबारबाट हुने आम्दानी लगायतका आम्दानीमा सुधार आएको छ । सो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी ब्यवस्थाबाट फिर्ता गरेको रकम मात्रै ३२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो फिर्ता रकम १७ अर्ब २३ करोड रुपैयाँ मात्रै थियो ।

चालु आवको बैंशाखसम्ममा वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ६० करोड रुपैयाँ रहेको छ । यो नाफा गत चैतको तुलनामा १९.४८ प्रतिशतले धेरै हो । गत चैतमा वाणिज्य बैंकहरुको खुद नाफा ४० खर्ब ६८ करोड रुपैयाँ थियो । वाणिज्य बैंकहरुको नाफा चैतको तुलनामा बैंशाखमा बढेको भएपनि गत आवको सोही अवधिसंग तुलना गर्दा घटेको छ । गत आवको बैंशाखमा वाणिज्य बैंकहरुको खुद नाफा ५७ अर्ब १६ करोड रुपैयाँ थियो । त्यसैगरी चालु आवको बैंशाखसम्ममा विकास बैंकहरुको खुद नाफा ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यो नाफा गत चैतको तुलनामा १४.१ प्रतिशतले धेरै हो । गत चैतमा विकास बैंकहरुको खुद नाफा ३ अर्ब ६५ करोड थियो । वकास बैंकहरुको नाफा पनि चैतको तुलनामा बैंशाखमा बढेको भएपनि गत आवको सोही अवधिलाई हेर्दा घटेको छ । गत आवको बैंशाखमा विकास बैंकहरुले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।

चालु आवको बैंशाखसम्ममा फाइनान्स कम्पनीहरुको खुद नाफा ४१ करोड ५० लाख रुपैयाँ छ । यो नाफा गत चैतको तुलनामा २४.९९ प्रतिशतल धेरै हो गत चैतमा फाइनान्स कम्पनीहरुको खुद नाफा ३३ करोड २० लाख रुपैयाँ थियो । फाइनान्सहरुको बैंशाखसम्मको खुद नाफा गत आवको सोही अवधिको तुलनामा भने घटेको हो । गत आवको बैंशाखमा फाइनान्स कम्पनीहरुको खुद नाफा एक अर्ब १४ करोड रुपैयाँ थियो ।