राष्ट्र बैंकमा बैंकहरुको खर्बौँ निक्षेप लगानी
४ असार काठमाडौं । कर्जाको माग नभएपछि बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट खर्बौँ रुपैयाँ बराबरको निक्षेप सुविधा ल्याएका छन् । चालु आवको हालसम्म बैंकहरुले राष्ट्र बैंकमा ५६३ पटक गरेर २७ खर्ब २७ अर्ब ७५ करोड रुपैयाँ निक्षेप राखेका हुन् ।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले तयार गरेको असार २ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो । त्यसमा २५ खर्ब ७२ अर्ब १५ करोड रुपैयाँ फिर्ता भइसकेको छ । बाँकी एक खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ भने परिपक्व भइसकेको छैन । परिपक्व भएपछि बैंकहरुले त्यो रकम व्याज सहित फिर्ता पाउने छन् ।
बैंकहरुले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन गरेर दुई उपकरण मार्फत सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । गत फागुनदेखि कार्यान्वयनमा आएको स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तरगत बैंकहरुले १६ खर्ब ६७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन् । ५१६ पटक गरेर बैंकहरुले सो बराबरको निक्षेप राखेका हुन् । १६ खर्ब ४५ करोड ३० लाख रुपैयाँ निक्षेप परिपक्व भएर फिर्ता भइसकेको छ । त्यो बाहेक २२ अर्ब १५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमै रहेको छ । त्यो निक्षेप आउँदो बुधवार परिपक्व हुनेछ । बैंकहरुले उक्त रकम व्याजसहित सबै फिर्ता पाउने छन् । त्यसपछि पुनः बैंकहरुले एसडीएफ अन्तरगत राष्ट्र बैंकमै निक्षेप पनि राख्न सक्नेछन् ।
स्थायी निक्षेप सुविधा अन्तरगत बैंकहरुले बिना बोलकबोल आफूले चाहेको रकम राष्ट्र बैंकमा राख्न सक्छन् । यसमा निश्चित ब्याजदर (३ प्रतिशत) तोकिएको छ । बैंकहरुले प्रस्ताव गरेपछि राष्ट्र बैंकले अस्वीकार गर्न पाउँदैनन् ।चालु आवको मौद्रिक नीतिले नै यो सुविधा ल्याउने घोषणा गरेको थियो । त्यसलाई गत फागुन १ गतेबाट कार्यान्वयनमा ल्याइएको थियो । यस अन्तरगत बैंकहरुले तोकिएको शर्तमा आफूले इच्छाएको रकम राष्ट्र बैंकमा निक्षेप राख्न सक्नेछन् । यस्तो निक्षेप राख्नको लागि राष्ट्र बैंकले आइतबार र बुधवार समय तोकेको छ ।
निक्षेपको अवधि बढीमा ४–४ दिनको हुनेछ । यस्तो निक्षेपमा राष्ट्र बैंकले बैंकहरुलाई वार्षिक ३ प्रतिशतको दरमा व्याज दिनुपर्छ । यस अन्तरगत बैंकहरुले प्रस्ताव गरेको निक्षेप रकम राष्ट्र बैंकले अस्वीकार गर्न पाउँदैन । यद्यपि, बैङ्कहरूमा तोकिएको शर्त तथा मापदण्ड भने पुरा भएको हुनुपर्छ ।अहिले बजारमा कर्जाको माग नभएर लगानीयोग्य रकम थुप्रीएको अवस्थामा स्थायी निक्षेप सुविधाले बैंकहरुलाई राहत भएको बैंकहरु बताउँछन् ।
यसैबीच राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । यद्यपि, यो कार्यान्वयनमा आइसकेको छैन । तर, अहिलेको भन्दा अझै प्रभावकारी बनाउने गरी स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था संशोधन गरिने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ बताए ।उनले भने, ‘स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था संशोधन हुनसक्छ । त्यो अहिलेको भन्दा अझै प्रभावकारी हुनेछ ।’
यस्तै, डिपोजिट कलेक्सन (निक्षेप संकलन) उपकरण मार्फत बैंकहरुले राष्ट्र बैंकमा १० खर्ब ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप राखेका छन् । बैंकहरुले बोलकबोल प्रणालीबाट ७ र १४ दिनका लागि सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखेका हुन् । ४७ पटकमा सो बराबरको निक्षेप राष्ट्र बैंकमा राखिएको हो । त्यसमा हालसम्म ९ खर्ब २६ अर्ब ८५ करोड रुपैयाँ निक्षेप फिर्ता भइसकेको छ । अब बाँकी १ खर्ब ३३ अर्ब ४५ करोड रुपैयाँ निक्षेप भने परिपक्व भइसकेको छैन । परिपक्व भइसकेपछि बैंकहरुले त्यो रकम व्याज सहित फिर्ता पाउन सक्नेछन् ।
राष्ट्र बैंकले प्रस्ताव आह्वान गरेको अवस्थामा बैंकहरुले यस अन्तरगत पुनः निक्षेप राख्न सक्नेछन् । पछिल्लो समय राष्ट्र बैंकले बोलकबोल विधिबाट ७ र १४ दिनका लागि २५, ३०, ३५ र ५० अर्ब रुपैयाँसम्म निक्षेप संकलन गरिरहेको छ । राष्ट्र बैंकले बोलकबोल विधिबाट निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकमा भएको पैसा तान्न सक्छ ।पछिल्लो समय देखिएका आर्थिक शिथिलताका कारण कर्जाका माग बढेको छैन । ब्याजदर घटाउँदा पनि कर्जाको माग बढेको छैन । निक्षेप बढ्दै जाँदा बैंकहरुले निक्षेपकर्तालाई दिने व्याज खर्च बढ्दै गएको छ । तर, कर्जा प्रवाह हुन नसक्दा बैंकहरुले आम्दानी बढाउन सकेका छैनन् ।
अहिले पनि बैंकहरूमा ६ खर्ब रुपैयाँ भन्दा बढी लगानी योग्य पुँजी छ । तर, कर्जाको माग नहुँदा त्यो पैसा बैंकमै थन्किएको छ । यद्यपि, बैंकहरुले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा अन्तरगत उक्त निक्षेप परिचालन गर्दै आएका छन् ।