विद्युतीय सवारी आयातमा यो वर्षकै उच्च


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १० २०८१
2.5K
SHARES

९ असार काठमाडौं । जेठ महिनामा यो वर्षकै उच्च विद्युतीय गाडी (कार, जीप र भ्यान) आयात भएको छ । एकै महिना झन्डै ३ हजार विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । भन्सार विभागबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । साउनदेखि जेठसम्म कुल २९ अर्ब ४ लाख बराबरको ११ हजार ४६६ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । तर, जेठ महिनामा मात्रै २ हजार ९६९ वटा गाडी नेपाल भित्रिएका छन् । सो महिनामा ७ अर्ब ९१ करोड २४ लाख १८ हजार रुपैयाँ बराबरको गाडी आयात भएका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत विद्युतीय सवारीमा कर वृद्धिको सूचना पाएपछि व्यापारीले जेठमा ठुलो संख्या गाडी आयात गरेका हुन् । गत बैशाखको तुलनामा विद्युतीय सवारी आयात दोब्बर बढेको छ । गत बैशाख महिनामा ३ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १ हजार ४०४ वटा गाडी आयात भएको थियो । गत पुस महिनादेखि नै सरकारले विद्युतीय सवारीमा कर वृद्धि गर्ने बजारमा चर्चा चलेको थियो । त्यसयता नै विद्युतीय गाडीको आयात औसत उच्च नै छ । गत पुसदेखि नै विद्युतीय गाडीमा कर वृद्धिको हल्ला चलिरहेको थियो । तर, फागुन चैतसम्म पुरानै गाडी बिक्रीमा लागेका व्यापारीहरु बैशाखमा भने आयात ह्वात्तै बढाएका छन् । कर वृद्धिको सूचना पाएसँगै उनीहरुले ठुलो संख्यामा गाडी नेपाल भित्र्याएका हुन् । तर, नाडा अटोमोबाइल्स अफ एसोसिएसन अफ नेपालका एक पदाधिकारीले भने कर वृद्धिको हल्ला मात्र नभई बजारको माग अनुसार नै आयात भएको बताउँछन् । ‘कर बढ्ने हल्ला त थियो । बजेट अघि नै ठुलो संख्यामा गाडी आयात हुनुलाई कर वृद्धिको हल्लाले गर्दा पनि भन्न त सकिन्छ । तर, पछिल्लो समय विद्युतीय सवारी प्रतिको आकर्षण बढ्दो, यसलाई बजार माग अनुसार नै आयात भएको भन्दा ठिक होला’, उनले भने, ‘विद्युतीय सवारीप्रति उपभोक्ताको धारणामा धेरै परिवर्तन हुँदै गएको छ । नेपालीहरुको विद्युतीय गाडीहरुमा आकर्षण बढ्दोक्रममा छ । बजार माग नै चर्को छ । ग्राहकको विद्युतीय चारपाँग्रे निजी सवारी खरिदमा पनि उत्तिकै क्रेज छ ।’

पछिल्लो समय नियामक निकायहरुले अपनाएको नीतिगत लचकताले पनि इभि खरिदमा थप सहज बनाएको छ । विस्तारै बैंक तथा वित्तीय संस्थाहरुले सहज फाइनान्सको सुविधा प्रदान गरेको ती अधिकारीले बताए । ‘अहिले आर्थिक गतिविधि पनि विस्तारै बढ्दै छ । अर्थतन्त्र सुधारको बाटोमा छ, पछिल्लो समय गाडी खरिदमा बैंक तथा वित्तीय संस्थाहरुले पनि सहज फाइनान्सको सुविधा प्रदान गरेका छन् । ब्याजदर पनि घट्दो क्रममा छ । यसले गाडी खरिदमा थप प्रोत्साहन गरेको । त्यसैले कर वृद्धिको हल्ला मात्रै भन्न मिल्दैन’, ती अधिकारीले भने । सरकारले बजेट मार्फत नै पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन पनि गरेको छ । जसले विद्युतीय सवारी प्रयोगको संख्या वृद्धिमा थप योगदान गरेको छ । पछिल्लो समय विद्युतीय सवारी किन्ने ग्राहकका सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ ।

पछिल्लो आँकडाअनुसार नेपालमा मासिक औसत १ हजार ४२ वटा विद्युतीय सवारी आयात हुने गरेको छ । विभागका अनुसार गत चैतमा १ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ बराबरको ६५८, फागुनमा २७६ वटा, माघमा २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ बराबरको १ हजार ५२ वटा र पुसमा ३ अर्ब ६२ करोड ६२ लाख रुपैयाँ बराबरको १ हजार ४२१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

यस्तै, मंसिरमा ८९९ वटा कात्तिकमा ६५२ वटा, असोजमा १ हजार २३७ वटा, भदौमा ७८८ वटा र साउनमा ११० वटा विद्युतीय गाडी आयात भएका थिए । गत आवको तुलनामा भने २.९६ गुणा बढी गाडी आयात भएका छन् । गत आवको साउनदेखि जेठसम्ममा भने १ अर्ब १२ करोड ३७ लाख ९२ हजार रुपैयाँ बराबरको ३ हजार ८७० वटा मात्रै विद्युतीय सवारी आयात भएको थिए । चालु आवको ११ महिनामा भएका इभि आयातबाट सरकारले भने १३ अर्ब ६ करोड ७५ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।