आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुर्‍याउन सकिन्छ – अर्थसचिव मरासिनी


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १० २०८१
2.6K
SHARES

९ असार काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर सात प्रतिशतसम्म पुर्‍याउन सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।मरासिनी भने, “पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर सात प्रतिशतसम्म पुर्‍याउन सकिन्छ, हामीले ६ प्रतिशतको मात्रै लक्ष्य राखेका छौँ, त्योभन्दा पनि बढी हाँसिल गर्ने गरि काम गर्न सकिने स्थिति बनिरहेको छ ।”

उनले अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको बताए । तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउन आवश्यक रहेको उनले बताए ।अर्थसचिव मरासिनीले भने, “यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नुपर्ने अवस्था आउन सक्छ । बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ ।”

यस्तै, उनले  पछिल्ल्लो समय बैंकका लिलामीका सूचना देख्दा दुःख लाग्ने गरेको बताए । यो समस्याको समाधानका लागि सबैको सहकार्यमार्फत् अगाडि बढ्नु पर्ने उनको भनाइ छ । यस्तै, उनले प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भए पनि वित्तीय स्थिरता तथा आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको धारणा राखे । उनले पछिल्लो समय अधिकांश मानिसले बजेटको भन्दा मौद्रिक नीतिमाथि विश्वास गर्दा चिन्ता र चुनौती पनि थपिएको बताए ।