बढ्यो कालो सूचीमा पर्नेको संख्या
२८ असार काठमाडौं । यो वर्ष कालो सूचीमा पर्नेको संख्या ह्वात्तै बढेको छ। कर्जा सूचना केन्द्रका अनुसार चालु वर्ष २०८०/८१ को हालसम्म ४५ हजार आठ सय २१ व्यक्ति तथा संस्था कालो सूचीमा थपिएका छन्। नयाँ थपिएको यो संख्या विगत ३५ वर्षको कुल संख्याभन्दा पनि धेरै हो। २०४६ सालमा स्थापित कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको अभिलेख राख्ने र कर्जा कारोबारका सर्त उल्लंघन गर्नेलाई कालो सूचीमा राख्ने काम गर्छ। चालु वर्षमा थपिएकासँगै, २०४६ साल पुसदेखि हालसम्म कालो सूचीमा पर्नेको संख्या ८९ हजार ८ सय ९१ पुगेको हो।
विगत साढे तीन दशकमा भन्दा धेरै व्यक्ति तथा संस्था यही एक वर्षमा कालो सूचीमा पर्नुको मुख्य कारण आर्थिक गतिविधिमा आएको शिथिलताको प्रत्यक्ष प्रभाव हो। अर्थतन्त्र सुस्त भएकाले कर्जा तिर्न नसक्दा, जारी गरेको चेक बाउन्स हुँदा र सहकारीहरूमा समस्या आउँदा यस्तो संख्या उल्लेख्य बढिरहेको हो।
कर्जा तिर्न नसकेका कारण यो वर्ष १० हजार ७ सय ४१ जना व्यक्ति कालो सूचीमा परेका छन्। त्यस्तै चेक बाउन्स भएकाले कालो सूचीमा पर्नेहरू ३५ हजार ८० जना छन्। चेक बाउन्सकै कारण कालो सूचीमा पर्ने सहकारी तथा संस्थाको संख्या पनि बढेको छ। चालु आर्थिक वर्षमा ३१ वटा सहकारी चेक बाउन्सका कारण कालो सूचीमा परिसकेका छन्। त्यस्तै गत जेठसम्म ८ सय ६९ निर्माण व्यवसायी यही कारणले कालो सूचीमा परेका छन्।
लामो समयदेखि सरकारले निर्माण व्यवसायीहरूले काम गरेको पैसा दिएको छैन। सरकारबाट भुक्तानी रोकिएकाले पनि यस्तो सूचीमा पर्नेको संख्या बढेको एक निर्माण व्यवसायीले बताए। चेक बाउन्सकै कारण साना कारोबारमा समेत व्यक्तिहरू बैंकिङ कसुरमा पर्न थालेका छन्। त्यसैले चेक काट्ने र चेकमार्फत भुक्तानी पाउनुपर्ने दुवै पक्षलाई आपसी समझदारीमा मिलापत्र गर्न सक्ने व्यवस्था गरिएको छ।
कालो सूचीमा समावेश गर्नुपर्ने देखिएमा बैंक तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रलाई नामनामेसी (खाता खोल्दा लिएको पहिचान खुल्ने आधिकारिक कागजात) यकिन गरी पठाउँछ। यसरी पठाएको पाँच दिनभित्र केन्द्रले ती व्यक्ति वा संस्थालाई कालो सूचीमा राख्नुपर्छ।
हालसम्म कालो सूचीमा रहेका ऋणीबाट करिब एक खर्ब ७ अर्ब रूपैयाँ बराबर ऋण असुली हुन बाँकी रहेको सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले जानकारी दिए। यसमध्ये ऋण नतिरिएको रकम करिब ७२ अर्ब ९५ करोड रूपैयाँ छ। चेक बाउन्सको ३४ अर्ब १० करोड रूपैयाँ असुली हुन बाँकी छ।