भुटानी शरणार्थी प्रकरण : बेचन झाले दिए यस्तो बयान


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ३ २०८१
13.2K
SHARES

३ साउन काठमाडौँ ।अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले चेक लिएको पनि अस्वीकार गरेका हुन् । अनौपचारिक कुरा गर्दा अनुसन्धान अधिकृतहरूसँग दुई करोडको चेक ‘च्यातिदिएँ’ भनेका बेचन झाले औपचारिक बयानमा भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले चेक लिएको कुरा सिधै ‘इन्कार’ गरेका छन् ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झा नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १४ मा पक्राउ परेका थिए ।  वीरगन्ज उपमहानगरपालिका–७ का स्थानीय उनको बुधवार उनको बयान पूरा भएको छ । बयानका क्रममा उनले नेपाली भुटानी नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको प्रकरणमा आफ्नो संलग्नताबारे उनले ‘इन्कार’ गरेका हुन् ।

रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरी अनुसन्धानले देखाउँछ । शरणार्थी प्रकरणमा संलग्न सानु भण्डारी र रामशरण केसीले यसअघि नै सरकारलाई मिलाउन भन्दै झालाई दुई करोडको चेक दिएको बयान दिएका थिए ।  उनलाई चेक दिन सानु भण्डारीले गिरोहका सदस्य रामशरण केसीलाई भनेका थिए । तर, झाले चेक बुझेपनि कुनै निर्णय गराउन सकेनन् ।

बयानमा बेचनले चेकबारे भनेका छन्, ‘चेकमा कसैले मेरो नाम भरिदियो होला ।’ तर रामशरणले नयाँ बानेश्वरस्थित ह्वाइट हाउस क्याम्पस नजिक भेटेर चेक दिएको दाबी गरेका थिए । भेट्नुअघि रामशरण र झाको बिचमा कुराकानीको भएको भनिएको अडियो पनि प्रहरीले आफूसँग रहेको बताउँदै आएको छ । तर, बेचनले रामशरणसँग भेटेको कुरा समेत अस्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बेचनले बयानमा भनेका छन्, ‘मैले रामशरणलाई भेटेको छैन, अडियोमा बोल्ने मानिस म होइन, मेरो आवाज नै होइन ।’