निर्माण व्यवसायीको चाँडै भुक्तानी हुन्छ – अर्थमन्त्री पौडेल
४ साउन काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । शुक्रबार निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताएका हुन् । उनले निर्माण व्यवसायीहरूले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनि १५ अर्ब मात्रै बाँकी देखिएको बताए ।
अर्थमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी बाँकी रहेको तथ्यांक आएको बताए । उनले सम्बन्धित निकायहरूलाई निर्माण सम्पन्न भएका आयोजनाहरूको भुक्तानी रोक्यो भन्ने नकारात्मक सन्देश तोड्न निर्देशन दिएको बताए । उनले सम्पन्न भएको आयोजना भुक्तानी नरोकिने बताए ।
भेटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निमार्ण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न माग गरे । उनले त्यसका लागि बैंकहरूलाई अनिवार्य १५ प्रतिशत लगानी गर्ने व्यवस्था गर्न माग गरे । भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तरसम्बन्धी मन्त्रालयलाई अधिकार दिनुपर्ने उनले बताए । अध्यक्ष सिंहले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजीकरण गर्न माग गरे ।