राष्ट्र बैंकले बैंकहरुको विदेशी ऋणको जोखिम बोक्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १४ २०८१
1.9K
SHARES

१४ साउन काठमाडौं । बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा लिएको ऋणको जोखिम नेपाल राष्ट्र बैंकले बहन गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली, २०८१’ जारी गर्दै उक्त व्यवस्था गरेको हो। राष्ट्र बैंकद्वारा जारी स्वाप कारोबार विनियमावली अनुसार बैंक तथा वित्तीय संस्थाले विदेशबाट विदेशी मुद्रामा लिएको ऋण केन्द्रीय बैंकले खरिद गर्नेछ भने बैंकहरूले विदेशी ऋणदातालाई साँवा–ब्याज भुक्तानी प्रयोजनका लागि राष्ट्र बैंकबाट विदेशी मुद्रा खरिद गर्नेछन्। यस्तो विदेशी मुद्राको विनिमयदर पहिले नै तय गरिने जारी विनियमावलीमा उल्लेख छ।

विदेशी विनिमय सटहीदरको उतारचढाबले गर्दा हाल बैंक तथा वित्तीय संस्थाले विदेशी ऋणदातासँग लिएको ऋणको जोखिम थियो। यही विषयलाई सम्बोधन गर्ने गर्ने राष्ट्र बैंकले उक्त विनियमावली जारी गरेको हो।

विदेशी विनिमय जोखिम व्यवस्थाप गर्ने उदेश्यले राष्ट्र बैंक र काउन्टरपार्टीबीच ‘खरिद–बिक्री अमेरिकी डलर÷नेपाली रुपैयाँ स्वाप’ सम्झौता हुनेछ। सोहीअनुसार बैंकले राष्ट्र बैंकलाई प्रचलित मुद्रा सटहीदरमा विदेशी मुद्रा बिक्री गरी गर्नेछ भने सोही सम्झौतामै ऋणको साँवा ब्याज भुक्तानीका लागि विदेशी मुद्रा खरिदको दर तय हुनेछ।

काउन्टरपार्टीको रुपमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनी हुनेछन्। स्वाप कारोबार अमेरिकी डलर र नेपाली मुद्रामा हुनेछ। बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा १ वर्षभन्दा बढी अवधिका लागि लिएको ऋण मात्रै यस्तो स्वाप कारोबारका लागि योग्य हुनेछन्। स्वाप कारोबारमा सहभागी हुनका लागि बैंक तथा वित्तीय संस्थाले विदेशी विनियम सटहीदर उल्लेख गरी बोलकबोल पेस गर्नु पर्नेछ। योग्य काउन्टरपार्टीलाई मात्रै राष्ट्र बैंकले स्वाप कारोबारमा सहभागी गराउँने छ भने काउन्टरपार्टीले साँवा–ब्याज भुक्तानी गर्नु पर्ने समयमा विदेशी मुद्रा खरिद तोकिएको दरमा खरिद गर्न दिनेछ।