वैदेशिक रोजगार बचतपत्रमा छैन आकर्षण


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १५ २०८१
2.1K
SHARES

१५ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बजतपत्रको स्थिति र प्रवर्द्धनका उपायका विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएकाहरुको बचतपत्रमा आकर्षण नभएको र केहीले बचतपत्रका बारेमा जानकारी नपाएको उल्लेख गरेको छ ।

आन्तरिक ऋण परिचालनका उपकरणहरुमध्ये आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्र सुरु हो । आन्तरिक ऋण परिचालनमा योगदान पुर्‍याउने उद्देश्यले बचतपत्र सुरु गरिएको थियो । गैरआवासीय नेपाली नागरिक एवं वैदेशिक रोजगारीमा रहेका वा फर्किएको ६ महिना अवधि व्यतित नभएका नेपाली नागरिक र निजका एकाघर परिवारकाले यो उपकरणमा लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

वैदेशिक रोजगार बचतपत्र आह्वान हुन थालेको करिब डेढ दशक भए तापनि यसबाट अपेक्षित मात्रामा आन्तरिक ऋण परिचालन हुन सकेको छैन आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड वैदेशिक रोजगार बचतपत्र आह्वान भएकोमा ७६ करोड २३ लाख अर्थात ४.९९ प्रतिशतमात्र बिक्री भएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको छ ।

वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ जना नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण गर्दा १२.५ प्रतिशतले मात्रै वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको बताएका छन् ।३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र व्याज प्राप्त गर्न धाउनुपर्ने कारण देखाएका छन् ।

सरकारले हरेक वर्ष बचतपत्र निष्कासनको लागि आह्वान गर्ने र आह्वान गरिएको रकमको न्यून अंशमात्र बिक्री हुने गरेको छ । फलस्वरुपः कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको हिस्सा पछिल्लो पाँच वर्षमा औसत ०.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्मका १३ वर्षमा बैंकले २५ पटकमा १५ अर्ब ५६ करोड आह्वान गरेकोमा ७६ करोड २३ लाख अर्थात् ४.९ प्रतिशतमात्रै बिक्री भएको छ । बचतपत्रको परिचालन शुरुका वर्षहरुदेखि नै अपेक्षित रुपमा हुन सकेको देखिँदैन । पहिलो वर्ष १ अर्बको बचतपत्र आह्वान भएकोमा ४० लाख बिक्री भएको थियो । दोस्रो वर्ष ५ अर्ब निष्कासन आह्वान भएकोमा ३३ लाखमात्र बिक्री भयो ।

त्यसपछिका अधिकांश वर्षहरुमा बचतपत्रको आह्वान ५० करोडभन्दा कम भएको देखिन्छ । आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म आह्वान रकमको ४.९ प्रतिशतमात्र बिक्री हुन सकेको छ । यस अवधिमा निष्कासन भएका सबै वैदेशिक रोजगार बचतपत्र ५ वर्ष अवधिको रहेका छन् ।