गत वर्षकै आयमा साउन मसान्तसम्म उठेको ब्याज गणना गर्ने सुविधा


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १५ २०८१
2.2K
SHARES

१५ साउन काठमाडौं । बैंक तथा वित्तीय संस्थाले यही साउन मसान्तसम्म उठेको ब्याज रकम पनि गत वर्षकै (असारसम्म) आयमा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी यस्तो सुविधा दिएको हो । यसअघि साउन १५ सम्म उठेको ब्याजलाई मात्र असारसम्मको आयमा गणना गर्न पाउने सुविधा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको थियो । अहिले त्यो सुविधाको अवधि बढाएर साउन मसान्तसम्म पुर्‍याएको हो । ‘बैंक तथा संस्थाले लेखा नीति बमोजिम आर्थिक वर्ष ०८०/८१ मा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये ०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

यस्तै, हालसम्म एनएफआरएस लागु भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा ०८०/८१ मा पाकेको ब्याज ०८१ साउन मसान्तभित्र प्राप्त भएमा सो रकमलाई त्यस्ता लघुवित्त वित्तीय सिंस्थाहरुले आर्थिक वर्ष ०८०/८१ को नाफा नोक्सान हिसाबमा आम्दानी जनाउन पाउने सुविधा पनि राष्ट्र बैंकले दिएको छ । खराब कर्जाबापतको नोक्सानी व्यवस्थामा धेरै रकम खर्च गर्नु परेकाले बैंक तथा वित्तीय संस्थालाई यो सुविधाले राहत पुग्नेछ ।