१ अर्ब १० करोड लगानी गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २२ २०८१
1.7K
SHARES

२२ साउन काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको कुल १ अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ।

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ। आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। २०८१ भदौ ४ गतेदेखि २०८१ चैत ९ गतेसम्म २१५ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।बैंकहरुले भदौ २४ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।