बैंकहरुलाई ऋणीहरुले बुझाए ५ खर्ब बढी ब्याज


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २४ २०८१
1.6K
SHARES

२४ साउन काठमाडौं । गत आर्थिक वर्ष सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।०८१ को वित्तीय विवरण अनुसार असार मसान्तसम्म वाणिज्य बैंकहरुलाई ऋणीहरुले ५ खर्ब ८८ अर्ब ७६ करोड ८४ लाख ५० हजार रुपैयाँ ब्याज बुझाएका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०७९।०८० को सोही अवधिको तुलनामा ६.७६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ऋणीबाट वाणिज्य बैंकहरुलाई ५ खर्ब ५१ अर्ब ४९ करोड ३३ लाख ८२ हजार रुपैयाँ ब्याज बुझाएका थिए ।

सबै भन्दा बढी ऋणीहरुबाट ब्याज आम्दानी गर्ने बैंकहरुमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकलाई ऋणीहरुले यस अवधिमा ५१ अर्ब ४६ करोड १६ लाख २१ हजार रुपैयाँ ब्याज बुझाएका हुन् । जुन गत आर्थिक वर्षको तुलनामा ६.७४ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ऋणीहरुबाट ४८ अर्ब २१ करोड ८० हजार रुपैयाँ ब्याज आम्दानी गरेको वित्तीय रिपोर्टको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै दोस्रो आम्दानी गर्नेमा नम्बरमा नबिल बैंक रहेको छ । नबिलले गत आर्थिक वर्षको असार महिनासम्ममा ऋणीहरुबाट ४६ अर्ब ३० करोड ३१ लाख २२ हजार रुपैयाँ ब्याज उठाएको हो । जुन गत आर्थिक वर्षको तुलनामा ०.११ प्रतिशतले बढी हो ।ऋणीहरुबाट उठ्ने ब्याज नेपाल इन्भेष्टमेन्ट बैंकको २२.६० प्रतिशतले बढेर ४३ अर्ब ६ करोड ५६ लाख रुपैयाँ, कुमारी बैंकको १३.४० प्रतिशतले बढेर ३८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

एनआइसी एशिया बैंकले ०.०१ प्रतिशतले बढेर ३८ अर्ब ३७ करोड, हिमालयन बैंकले २२.प्रतिशतले बढाएर ३५ अर्ब ५७ करोड, लक्ष्मी सनराइज बैंकले ८३.८४ प्रतिशतले बढेर ३५ अर्ब ५ करोड रुपैयाँ, प्रभु बैंकले ७.१६ प्रतिशतले बढेर ३२ अर्ब, आरबिबिले १.७ प्रतिशतले घटेर २९ अर्ब र कृषि विकास बैंकले १३ प्रतिशतले बढेर २७ अर्ब रुपैयाँ रहेको छ । प्राइम–एनएमबि–सिद्धार्थ र नेपाल बैंकले २५–२५ अर्ब रुपैयाँ, एभरेष्ट बैंकले २२ अर्ब, सानिमा बैंकले र सिटिजन बैंकले १९ अर्ब रुपैयाँ ऋणीहरुबाट ब्याज उठाएको हो ।