सबैभन्दा बढी रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत्
२४ साउन काठमाडौं । नेपाल सरकार र राष्ट्र बैंकले विगतदेखि विप्रेषण आय बैंकिङ प्रणालीबाट भित्र्याउन गरिरहेको प्रयासको परिणाम स्वरुप वैदेशिक रोजगारीमा रहेका व्यक्तिमध्ये ९२.२ प्रतिशतले विप्रेषण आय बैंक तथा वित्तीय संस्था र रेमिट कम्पनीमार्फत् नेपाल पठाएको बताएका छन् ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वैदेशिक रोजगार वचतपत्रको स्थिति र प्रर्वद्धनका उपायबारे गरेको अध्ययन प्रतिवेदनमा यसमध्ये ७.८ प्रतिशतले मात्र साथीमार्फत् विदेशी मुद्रा पठाउने गरेको उल्लेख गरेको छ ।
रोजगारीमा जाने करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र ७० प्रतिशत कम्तीमा एक पटक गएको प्रतिवेदनमा उल्लेख छ। जसमा महिलाको संख्या १९.२ प्रतिशत छ । २०.९ प्रतिशत पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेको प्रतिवेदनमा उल्लेख छ ।