करिब आधा खर्ब राजस्व २३ दिनमा उठ्यो
२४ साउन काठमाडौं । संघीय सरकारले आर्थिक वर्षको पहिले २३ दिनमा करिब आधा खर्ब राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा ४६ अर्ब ६१ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ । गतवर्ष यसै अवधिमा ४१ अर्ब राजस्व उठाएको थियो । गत वर्षको तुलनामा चालु वर्ष राजस्व संकलन बढी भएको छ । आर्थिक बर्षको शुरुवातबाटै राजस्व संकलनमा सुधार देखिएको छ । यद्यपि सरकारले चालुवर्ष निकै महत्वाकांक्षी राजस्व संकलनको लक्ष्य राखेको छ । १४ खर्ब २२ अर्ब बढी राजस्व संकलनको लक्ष्य लिएको सरकारले यसका लागि कडा मेहनत गर्नुपर्ने बताएको छ ।
राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।‘अहिले बजेटमा जुन राजश्वको लक्ष्य निर्धारण गरिएको छ, त्यसलाई पूरा गर्न कडा मेहनतको आवश्यकता छ। यहाँ सबै प्रकारका त्रुटिहरु, कमी कमजोरीहरु छन् र त्यसलाई सच्चाउनुपर्ने छ’, अर्थमन्त्री पौडेलले भने । विगतमा राजश्वको लक्ष्य पूरा हुन नसकेको अनुभवले आगामी दिनमा नयाँ लक्ष्य प्राप्त गर्न थप मेहनतको आवश्यकता रहेको उनले बताए ।साउनको २३ दिनमा ४ अर्ब ५९ करोड रुपैयाँ चालु खर्च भएको छ । यसका लागि सरकारले चालू वर्ष ११ खर्ब ४१ अर्ब बजेट विनियोजन गरेको छ ।