बैंकहरुलाई ऋण उठाउन सकस
२६ साउन काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु लगानी गरेको ऋण उठाउन नसकेपछि ऋण असुली न्यायाधिकरण धाउने क्रम बढ्न थालेको छ ।२०८१ असार मसान्तसम्म ५१ खर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुको करिब साढे २ खर्ब रुपैयाँ हाराहारी लगानी जोखिममा परेको छ । जसको प्रभाव बैंकहरुको वित्तीय रिपोर्ट (ब्यालेन्स सिट) मा परेको छ ।यसको कारण बैंकहरुको खराब कर्जा बढ्दा नाफाको अधिक प्रतिशत वित्तीय व्यवस्थापन (प्रोभिजन)मा जाँदा नाफा घट्न पुगेको छ । लगानी उठ्न छाडेपछि बैंकहरुले फसेको पैसा उठाइदिन ऋण असुली न्यायाधीकरणसँग हारगुहार गर्न थालेका छन् ।
असार मसान्तसम्म ४८० वटा मुद्दा ऋण असुली न्यायाधीकरणमा परेको छ । यस अवधिमा ६ अर्ब ८९ करोड २३ लाख ७७ हजार रुपैयाँ बराबरको मागदाबीसहित उक्त संख्यामा मुद्दा परेको हो ।आर्थिक वर्ष २०७९/८० मा मात्रै बैंक तथा वित्तीय संस्थाको ३१५ वटा मुद्दा परेका थिए । लगानी गरेको ऋण उठाउन नसकेकोे भन्दै बैंक तथा वित्तीय संस्था न्यायाधीकरण गुहार्न पुगेका हुन् ।न्यायधीकरणका अनुसार अघिल्लो वर्ष बैंक तथा वित्तीय संस्थाहरुको ४ अर्ब ९० करोड १६ लाख ६८ हजार रुपैयाँ बराबरको माग दाबीसहितको मुद्दा परेको थियो ।
यस अवधिमा सर्वाधिक रुपमा वाणिज्य बैंकहरुको मुद्दा ऋण असुली न्यायाधीकरणमा परेका छन् । गत वर्ष मात्रै वाणिज्य बैंकहरुबाट ६ अर्ब रुपैयाँ बढीको मागदावी सहित ४२० मुद्दा परेका छन् ।यस अवधिमा १७ वाणिज्य बैंकहरुले ६ अर्ब ६ करोड ५७ लाख ३५ हजार रुपैयाँ बराबरको मागदावी गर्दै उक्त संख्यामा मुद्दा दायर गरेका हुन्।त्यस्तै विकास बैंक, लघुवित्त र फाइनान्स कम्पनीको मुद्दाको चाङ पनि उत्तिकै छ ।
यस अवधिमा ३५ वटा विकास बैंकहरुले ३६ करोड ८२ लाख २५ हजार रुपैयाँ बराबरको मागदावी गर्दै ३५ वटा मुद्दा दायर गरेका छन् भने फाइनान्स कम्पनीबाट १० करोड १२ लाख ७२ हजार रुपैयाँ बराबरको मागदाबीसहित १४ वटा मुद्दा परेको छ ।लगानीको रकम उठाउन नसकेको भन्दै ३५ करोड ७१ लाख ४५ हजार रुपैयाँ बराबरको मागदावी सहित माइक्रोफाइनान्स कम्पनीले ११ वटा मुद्दा दायर गरेका छन् ।