सरकारबाट आर्थिक सुधारको अपेक्षा गरेका छौं – अध्यक्ष ढकाल


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २६ २०८१
1.6K
SHARES

२६ साउन काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठूला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भै निजी क्षेत्र विस्तार हुने अपेक्षा गरेका छन् ।कैलाली उद्योग वाणिज्य संघको वार्षिक साधारणसभालाई प्रमुख अतिथिको हैसियतले शनिवार सम्बोधन गर्दै अध्यक्ष ढकालले नीतिगत अस्थीरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको बताएका हुन् ।मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने बताए ।

केन्द्रसंगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानिय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाई थियो ।कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरु मध्ये छैठौ स्थानमा रहेको र सबैभन्दा बढि गरिबी रहेको सुदुरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले बताए । जलस्रोत पर्यटन मात्रै नभई यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरु बिकासको सम्भाहक हुने उनको भनाइ थियो ।

जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरि महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए । कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उनले प्रतिवद्धता जनाए ।कार्यक्रममा संघका अध्यक्ष पुष्प कुँवरले सुदुरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको बताए । साथै सुदुरपश्चिमका उत्पादनको बजारीकरण, वित्तिय पहुँच लगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको पनि उनको भनाइ थियो ।