नेप्सेमा उच्च उतारचढाव
२७ साउन काठमाडौं । पछिल्लो केही साता लगातार उच्च वृद्धि देखिएको सेयर बजारमा गत साता भने स्थिर जस्तै देखिएको छ । सातामा बजार परिसूचक नेप्से ०.३९ प्रतिशतको सामान्य वृद्धि देखिए पनि बजारमा तीव्र उतारचढाव देखियो ।बढ्दो बजारमा केही ‘स्पेकुलेटिभ’ प्रवृत्ति हावी हुँदा न्यून चक्र पूँजी भएको केही हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा बढेको छ ।सातामा चार कारोबार दिन मात्रै खुलेको बजार एक दिन उच्च अंकको गिरावट हुँदा ती कारोबार दिन बढेर बन्द भएको छ । साताभरि समग्रमा बजार परिसूचक नेप्से १०.७६ अंकले बढेर २७६६.३८ को बिन्दुमा बन्द भएको छ ।
गत साता बिहीबार २७५५.६२ को बिन्दुमा बन्द भएको नेप्से यो साता पटक–पटक २८ सयको बिन्दु पार गरे पनि त्यसभन्दा माथि रोकिन सकेन ।साताको पहिलो कारोबार दिन नै २८०६.६९ को बिन्दुसम्म पुगे पनि २७९६.३८ को बिन्दुमा बन्द भयो । मंगलबार नेप्सेमा एक कारोबार दिनमा अहिलेसम्मकै उच्च १४५.०६ अंकको गिरावट हुँदा उक्त दिन पनि नेप्सेले २८१५.९४ अंकको उच्च बिन्दु कायम गर्दा २६४४.८६ अंकको न्यून बिन्दु कायम गरेको थियो । न्यून बिन्दुभन्दा केही माथि बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से २६५१.३२ को बिन्दुमा बन्द भयो ।
मंगलबार उच्च गिरावट भएको नेप्सेमा बुधबार एकै दिन १०८.३५ अंकको ‘बाउन्स ब्याक’ भयो । बुधबार ‘इन्ट्राडे’ मा २६३०.६६ सम्म झरेको नेप्से सोही दिन २७५९.६७ अंकमा पुगेर बन्द भयो ।
बिहीबार तीव्र चतारचढाव देखिएको नेप्सेले पटक–पटक २८०० को बिन्दु पार गरे पनि २८०० माथि रोकिन सकेन । उक्त दिन २८११.१६ को उच्च बिन्दुसम्म पुगेको नेप्सेले सोही दिन २७४४.८७ को तल्लो बिन्दु कायम गरेर २७६६.३८ को बिन्दुमा बन्द भयो ।नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार पनि सकारात्मक देखिन्छ । गत साता ५ कारोबार दिन नै कारोबार हुँदा नेप्सेमा ९५ अर्ब ५३ करोड ८६ लाखको सेयर कारोबार भएको थियो । यो साता आइतबार सार्वजनिक बिदा हुँदा चार दिन मात्रै कारोबार भयो ।
चार दिनमा नेप्सेमा ८२ अर्ब ७१ करोड ३१ लाखको सेयर कारोबार भएको छ । गत साता प्रतिकारोबार दिन औसत करिब १९ अर्ब ११ करोडको कारोबार भएकोमा यो साता प्रतिदिन औसत करिब २० अर्ब ६८ करोडको कारोबार भएको छ ।यो साता बजारमा अन्य, व्यापार, हाइड्रोपावर, उत्पादन तथा प्रशोधनमूलक उद्योग, लगानी र होटल तथा पर्यटन क्षेत्रका कम्पनी लगानीकर्ताको रोजाइमा परेका छन् । यी क्षेत्रका कम्पनी समावेश भएको उपसूचक वृद्धि हुँदा, बैंकिङ, विकास बैंक, वित्त कम्पनी, लघुवित्त लगायत कम्पनीको सेयर मूल्य गिरावट भएका छन् ।
नयाँ सूचीकृत हाइड्रोपावर कम्पनीमा लकइन नखुल्दा सेयर सप्लाई कम हुने र ट्रेडरलाई मूल्यमा कर्नरिङ गर्न सहज हुने गर्छ । त्यस्तै साना पूँजी भएका लघुवित्त र वित्त कम्पनीको समेत सेयर सप्लाई कम हुँदा कर्नरिङ गरेर मूल्य बढाउन सहज हुने भएकाले सीमित अवधिमा धेरै प्रतिफल खोज्नेहरू समूह नै बनाएर यस्ता कम्पनीमा लगानी गरिरहेका छन् ।