बंगलादेशको केन्द्रीय बैंक नेतृत्व विहीन


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन २९ २०८१
1.7K
SHARES

२९ साउन काठमाडौं । बंगलदेशको केन्द्रीय बैंक, बंगलादेश बैंक नेतृत्वविहीन बनेको छ । बैंकका गभर्नर अब्दुर रउफ तालुकदारले पदबाट राजीनामा दिएका हुन् । यसअघि राष्ट्र बैंकका चारजना डेपुटी गभर्नर, सल्लाहकार र फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुखले राजीनामा दिन बाध्य भएका थिए । केन्द्रीय बैंक नेतृत्वविहीन हुँदा बंगलादेशको सिंगो बैंकिङ क्षेत्र असुरक्षित बनेको छ । देशका निजी बैंकमा अस्थिरता फैलिएको छ । पूर्व प्रधानमन्त्री शेख हसिनाको सत्ता शक्तिको आडमा बैंकको सञ्चालक समितिमा कब्जा गरेका लगानीकर्ताको राजीनामा माग गर्दै शेयरधनी र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् ।

बैंकलगायत मुलुकको वित्तीय क्षेत्र लामो समयदेखि संवेदनशील अवस्थामा छ । सत्ता शक्तिको आडमा जबरजस्ती कब्जामा लिएका बैंकको सञ्चालक समितिबाट नयाँ शेयरधनी बाहिरिएका छन्।

केन्द्रीय बैंकले वित्तीय संकट टार्नका लागि ६–७ बैंकलाई बिना धितो रकम छापेर सहयोग गरेको छ । हसिनाको सत्ता निकट मानिने प्रभावशाली व्यवसायीले विदेशी मुद्रा सञ्चिति वा सञ्चितिबाट लिएको ऋण डलरमा फिर्ता गरिरहेका छैनन् ।स्थानीय अनलाइन अखबार प्रथम आलोका अनुसार कागजपत्रमा अहिले बंगलादेशको कर्जा दुई लाख करोड रुपैयाँको हाराहारीमा रहे पनि यथार्थमा भने झण्डै ४ लाख करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।