अर्थतन्त्र चलायमान हुँदै गएको छ – अर्थमन्त्री पाैडेल


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ११ २०८१
1.7K
SHARES

११ भदौ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२४ को उद्घाटन गर्दै मन्त्री पाडैलले वर्तमान सरकारले गरेको सहज नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताएका हुन् ।

नीतिग स्थिरता राजनीतिक स्थिरतासँग जोडिएको भन्दै अहिलेको सरकार स्थिर सरकार भएको उनले बताए । उनले व्यवसायीहरूको नीतिगत समस्यालाई समाधान गर्नेगरी सरकार अघि बढ्ने बताए । अब अटो उत्पादनतर्फ ध्यान केन्द्रित हुनुपर्ने र यसमा सरकारले साथ दिने उनको भनाइ छ ।  मन्त्री पौडेलले नेपालमा गुणस्तरीय उत्पादन गर्नसके विदेशी बजारमा पनि नेपालको उत्पादनले स्थान लिनसक्ने जिकिर गरे ।

अर्थमन्त्री पौडेलले विद्युतीय सवारीसाधानका साथै अर्थतन्त्रका सवै क्षेत्रमा अध्ययन र अनुसन्धान गरे निष्कर्षमा पुग्ने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताए । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोवाइल्सलाई लक्जरीको रूपमा हेर्दा केही सीमा र संकुचन देखिएको भन्दै यसलाई राज्यले ध्यान दिएर सहजीकरण गर्नुपर्ने बताए । अटो मोवाइल्सलाई प्राथमिकतामा राख्न सके करमा समेत बृद्धि हुने उनको भनाइ छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष बृहत् अटो शो गर्दै आएको छ । यसपटकको अटो शो भदौ १६ गतेसम्म आयोजना हुने बताइएको छ ।