चार अर्ब १९ करोड रुपैयाँको विद्युत् निर्यात


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ११ २०८१
1.8K
SHARES

११ भदौ काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्षअघिसम्म वर्षायाममा दैनिक ८/९ घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरूमा  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने गरेतापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नु पर्ने अवस्था नरहेको उल्लेख गरे ।