बैंकहरुले काउन्टरसाइक्लिक बफर अनुसार थप पुँजी कायम गर्नु नपर्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १२ २०८१
1.4K
SHARES

१२ भदौ काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षमा काउन्टरसाइक्लिक बफर अनुसार थप पुँजी कायम गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले यस्तो बफर शून्य प्रतिशत कायम गरेको छ ।

क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गरी चालु आर्थिक वर्षका लागि यस्तो बफर शून्य प्रतिशत कायम गरेको हो ।

काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत रहने व्यवस्थाले अब बैंकहरुको क्यापिटल एडुकेसी रेसियो (सीएआर) ११ प्रतिशत र टायर ओन क्यापिटल (सीसीएआर) ८.५ प्रतिशत भए हुन्छ ।

२०८१ साउनदेखि लागू हुनेगरी यो आर्थिक वर्ष सम्मका लागि यस्तो व्यवस्था हटाइएको राष्ट्र बैंकले जनाएको छ । यसले बैंकहरुलाई थप कर्जा प्रवाह गर्ने क्षमता बढाएको छ।

अर्थ व्यवस्थामा आउन सक्ने आकस्मिक संकटको प्रभावबाट सुरक्षित राख्न बैंकहरूले अतिरिक्त रूपमा जोहो गर्ने पूँजीको अंशलाई ‘काउन्टर साइक्लिकल क्यापिटल बफर’ भनेर बुझिन्छ।