कर्जा विस्तारमा आक्रामक बन्दै बैंक


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १३ २०८१
2.1K
SHARES

१३ भदौ काठमाडौं । वाणिज्य बैंकहरुले पछिल्लो समय कर्जा विस्तार बढाउँदै लगेका छन् । बैंकहरुले अहिले भटाभट ग्राहकको कर्जा स्वीकृत गर्न थालेका छन् ।ब्याजदर घटेको अवस्थामा कर्जाको माग पनि बढेको छ। अहिले बैंकहरुको आधार दर ८ प्रतिशतको हाराहारीमा झरेको छ भने एकल अंकको ब्याजदरमा नै कर्जा दिन थालेका छन्। यसले गर्दा पनि बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ।

गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५१ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। साउन २९ गतेसम्ममा कर्जा लगानी उल्टै घटेर ५१ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको थियो। साउन महिनामा बैंकहरुले खासै कर्जा लगानी गरेनन। भदौ लागेपछि भने कर्जा लगानी बढाउन थालेको देखिएको छ ।

भदौ ९ गते सम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ८४ अर्ब पुगेको छ। भदौ लागेपछि नै बैंकहरुको कर्जा लगानी १० अर्बभन्दा धेरैले बढीसकेको छ। अहिले बैंकहरुमा करिब ८ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ। बैंकहरुले साढे ३ खर्ब बढी तरलता राष्ट्र बैंकमा नै लगेर राखेका छन्। बैंकहरुले निक्षेपमा महंगो ब्याज तिरेर लिएको पैसा ३ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा राखिरहेका छन्।

बैंकहरुले ९० प्रतिशतसम्म कायम गर्न पाउने सिडि रेशियो अहिले ७८ प्रतिशतमा झरेको छ। केही बैंकको त सिडि रेशियो ७० प्रतिशत भन्दा पनि तल झरेको छ।