बिजुली बंगलादेश लैजान ऐतिहासिक सम्झौता आज हुँदै
१७ असोज काठमाडौं । नेपालबाट तेस्रो मुलुक बिजुली पठाउने ऐतिहासिक सम्झौता आज हुँदै छ । नेपाल विद्युत् प्राधिकरण, भारतको एनभीभीएन एनटीपीसी विद्युत व्यापार निगम र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।सम्झौताका निम्ति बंगलादेशको अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनसहितको टोली नेपाल आइसकेको छ । दिउँसो साढे ३ बजे दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरिने तय छ ।
उक्त हस्ताक्षरसँगै नेपालबाट तेस्रो मुलुकमा पहिलोपटक विद्युत् व्यापारको बाटो खुल्नेछ । नेपाल–भारतबीच मात्र रहेको विद्युत् व्यापारको ढोका तेस्रो मुलुकसँग पनि खुल्नेछ ।गएको साउन १३ गते नै सम्झौता गर्ने तयारी थियो । तर, बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपछि अन्तिम समयमा सम्झौता रोकिएको थियो ।
पहिलोपटक तेस्रो देश विद्युत् निर्यातका निम्ति तयार रहेको र यो नेपालको ऊर्जा क्षेत्रका लागि ऐतिहासिक हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौत बताउँछन् । “नेपालले पहिलोपटक तेस्रो देशमा बिजुली बिक्रीका लागि गर्ने हस्ताक्षर आफैँमा ऐतिहासिक हो,” उनले भने, “योसँगै हाम्रो बंगलादेशसँग पनि विद्युत् व्यापार सम्झौताले ब्रेक थ्रु हुनेछ ।”
नेपालदेखि बंगलादेश बिजुली निर्यात निम्ति झन्डै चार वर्षदखि प्रयास भइरहेको थियो । नेपाल र बंगलादेशको सीमा नजोडिएका कारण भारतीय भूमि हुँदै बिजुली लैजानुपर्छ । सोही कारण भारतको साथ अनिवार्य हुन्छ । भारतको साथ समेत आवश्यक पर्दा सम्झौताका निम्ति समय लागेको हो ।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता ऐतिहासिक हुने ऊर्जामन्त्री दीपक खड्का बताउँछन् । “४० मेगावाट बिजुली धेरै होइन । तर, बंगलादेशसँग ब्रेक थ्रु हुनु नै हाम्रो लागि ठूलो उपलब्धि हो,” उनले भने ।नेपाल–बंलादेशबीच बिजुली खरिद–बिक्रीको चर्चा यसअघि पनि चल्ने गरेको थियो । तर, दुई वर्षअघि भारतले ५० मेगावाटसम्म प्रसारण गर्न सक्ने जनाएपछि नेपाल–बंगलादेशको सचिवस्तरीय बैठकले त्यसका निम्ति ऊसँग वार्ता गर्ने सहमति भएको थियो ।
भारतको एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन)ले ०.०५९५ टाकाको ट्रेडिङ मार्जिन, ०.०९ टाकाबराबरको प्रसारण शुल्क ०.७६ टाका प्राप्त तिर्दा युनिटको कुल लागत ८.१७ टाका (९.१७ नेपाली रुपैयाँ) पर्नेछ । बंगलादेशले नेपालबाट प्रतियुनिट ६.४० सेन्ट पाउने गरी मूल्य तय भइसकेको छ ।
नेपाल–बंगालदेशबीच ०७९ भदौमा भएको सचिवस्तरीय बैठकबाट पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति गरिएको थियो । उक्त बैठकबाट बंगलादेशको भेरामारामा रहेको हाई भोल्टेज डाइरेक्ट करेन्ट संरचनामार्फत बिजुली निर्यातका निम्ति नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय विद्युत् खरिद–बिक्री सम्झौताका लागि भारतलाई आग्रह गरियो ।