ब्याजदर घटयो, कर्जा बढ्यो
२० असोज काठमाडौं। वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै गएको छ । निक्षेपको ब्याजदर १ वर्षदेखि लगातार घट्दै जाँदा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।अहिले बैंकहरूको आधारदर (बेसरेट) झण्डै ३ वर्ष यताकै कम भएको छ । बैंकहरूले २०८० कात्तिकदेखि महिनै पिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बैंकहरूको आधारदर (बेसरेट) निकै सस्तिएको हो ।
वाणिज्य बैंकहरूले असोजका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ७.६८ प्रतिशतमा झरेको छ । यो पछिल्लो ३४ महिना यताकै सस्तो हो ।चालु आवको भदौको तुलनामा असोजमा बैंकहरूको बेसरेट औसतमा ०.२५ प्रतिशत बिन्दुले घटेको हो । भदौमा बैंकहरूको औसत बेसरेट ७.९२ प्रतिशत रहेकोमा असोजमा ७.६८ प्रतिशतमा झरेको छ ।
बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो ।
सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले ७.६८ प्रतिशतमा झरेको हो ।
पछिल्लो १ वर्षको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।
हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ बैंकको बेसरेट मात्रै ८ प्रतिशतमाथि छ । १५ वाणिज्य बैंकको बेसरेट ८ प्रतिशत कम छ । जसमा ९ बैंकको बेसरेट औसतभन्दा पनि कम रहेको छ । दुई बैंकको बेसरेट ७ प्रतिशतभन्दा पनि कम छ ।
२० बैंकमध्ये १५ वटाले चाहेमा ९ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्ने भएका छन् । बेसरेट ८ प्रतिशतभन्दा तल रहेका बैंकले चाहेमा न्यूनतम १ प्रतिशत मात्रै प्रिमियम जोडेर ९ प्रतिशत ब्याजदरमै ऋण दिन सक्ने भएका हुन् ।
बढ्यो कर्जा प्रवाह
लगातार ब्याजदर घटेसँगै कर्जा प्रवाह बढ्न थालेको छ । राष्ट्र बैंकका अनुसार गत साउनमा बैंक तथा वित्तीय संस्थाले १४ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत भदौमा कर्जा प्रवाह बढेर ६० अर्ब पुगेको थियो । यही असोज १४ सम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा करिब ८४ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको साउनमा ४ अर्ब ३५ करोडले बैंकहरूको ऋण प्रवाह घटेको (वृद्धिदर ऋणात्मक) थियो । भदौ मसान्तसम्ममा ३३ अर्ब कर्जा प्रवाह भएकामा असोज १४ सम्म बैंकहरूको कुल कर्जा प्रवाह ३१ अर्ब मात्र थियो ।