जापान प्रकरण : तत्कालीन मन्त्रीले १० देखि १३ लाख बुझेको खुलासा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१
2.1K
SHARES

२३ कार्तिक काठमाडौं । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेका व्यक्तिहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारीसँगको बयानमा पक्राउ परेका उनीहरूले १० देखि १३ लाखसम्म रकम बुझाएको खुलाएका हुन् ।

मानव तस्करीमा मुछिएपछि मन्त्री अधिकारीले बुधबार नै पदबाट राजीनामा दिएएका छन् । मन्त्री अधिकारीसँगै जापानका लागि उडेका तीन जना र कीर्ते कागजात बनाउनन संलग्न तीनजना गरी ६ जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

जापानको अध्यागमन विभागले मन्त्रीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेको थियो । उनीहरू मध्ये दुईजनाले कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै परिचय पत्र बोकेका थिए । एकजनासँग वडा सदस्यको परिचयपत्र थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन कार्यालयबाट पत्राचार भएपछि तीनै जनालाई पक्राउ गरेर हिरासतमा राखिएको थियो । प्रहरीले अहिले उनीहरूविरुद्ध किर्ते गरेको आरोपमा अनुसन्धान गरिरहेको बताएको छ ।

उनीहरूकै बयानका आधारमा किर्ते परिचयपत्र बनाउन सहयोग गर्ने जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धानमा यस प्रकरणमा महेश पाण्डेको भूमिका बढी देखिएको बताइएको छ । उनीहरूले पाण्डेलाई नै १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक बयानका क्रममा बताएका छन् ।