बक्यौता नबुझाउँदै लाइन जोड्ने निर्णय कार्यान्वयन गर्नु हुँदैन – प्राधिकरणका कर्मचारी


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक २६ २०८१
2.3K
SHARES

२६ कात्तिक काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले औद्योगिक ग्राहकले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म लाइन जोड्ने सरकारको निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् ।

सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबरजस्ती लाइन जोडिए आम जनतालाई सुसूचित गर्दै सङ्घर्षका कार्यक्रम गर्ने जनाएका हुन् । आम उपभोक्ताले ६० दिनभित्र महसुल नबुझाए लाइन काट्न व्यवस्था स्मरण गराउँदै औद्योगिक ग्राहकलाई छुट्टै व्यवहार गर्न नहुने बताएका छन् ।सबैलाई समान व्यवहार गर्नुपर्नेमा सरकारले अर्बौँ बक्यौता नतिरेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेर ठुलालाई चैन, सानालाई ऐन उक्ति चरितार्थ गरेको कर्मचारीको भनाइ छ ।

कर्मचारीहरूले महसुल उठाउने प्रचलित ऐन, नियम तथा विनियमावलीमा रहेका व्यवस्थाअनुरूप प्राधिकरणले काम गरेको भन्दै त्यस विपरीत जान नहुने भन्दै सरकारलाई सचेत गराएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले महसुल नतिरेका उद्योगको लाइन तत्काल जोड्ने निर्णय गरेको थियो ।