दोहोरो अंकले घट्यो नेप्से
२८ कार्तिक काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।यस दिन नेप्से १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा बन्द भएको छ।बुधबार नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ।मंगलबार ७ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ९१ करोडको किनबेच भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६ करोड रूपैयाँ वृद्धि भएको हो।आज ३०८ वटा धितोपत्रको एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ। यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ।यस दिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।सप्तकोशी डेभलपमेन्ट बैंक र श्रीजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७८९ रूपैयाँ १० पैसामा झरेको छ।१०.२५% केबिएल डिबेञ्चरको मूल्य ७.७४ प्रतिशतले घटेको छ। उक्त डिबेञ्चरको मूल्य एक हजार ६० रूपैयाँ ५० पैसा कायम भएको छ।बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य ९७९ रूपैयाँ ९० पैसामा ३३ करोड ८६ लाखको सेयर कारोबार भएको छ।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७६१ रूपैयाँ ६० पैसामा २५ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ वटाको घटेको छ।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशतले घटेको छ।